५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मूल घर एमालेमा फर्कने विषयमा माधवकुमार नेपालको गुट विभाजित

प्रकाशित मिति :  १९ जेष्ठ २०७८, बुधबार ०८:५१


काठमाडौं । मूल घर एमालेमा फर्कने विषयमा माधवकुमार नेपालको गुटमा विवाद बढेको छ ।

सो गुटमा पार्टीमा फर्कने कि नफर्कने भन्ने विवाद बढेको हो । चुनाव लड्ने औकात भएका, जनताबीच लोकप्रिय र एमालेमै भविष्य देख्ने नेताहरु फर्कने पक्षमा लागेका छन् । उनीहरुले संस्थापन पक्षसँग वार्ता पनि अगाडि बढाएका छन् ।

‘चुनाव लड्ने हैसियत, जनाधार र भविष्य भएका साथीहरु फर्कनुहुन्छ, बाँकी साथीहरु माधवसँग बस्नुहुन्छ र माओवादीमा प्रवेश गर्नुहुन्छ’– माधव पक्षका एक नेताले भने ।

माधव गुटमा लागेका योगेश भट्टराई र घनश्याम भुषालको अगुवाईमा संस्थापन पक्षसँग अहिले सघन वार्ता चलिरहेको छ । यही कारण एमाले स्थायी समितिको बैठकले स्पष्टिकरण सोधिएका १२ जना नेतालाई थप कारवाही अगाडि नबढाएको बुझिन्छ ।

स्रोत अनुसार स्थायी समिति सदस्यद्धय भट्टराई र भुषाल बैठकमा आउन तयार हुनुहुन्छ । तर, माधव नेपाल सहितलाई मनाउने प्रयासमा उहाँहरु स्थायी समितिको निरन्तर चलिरहेको बैठकमा अहिले नआउनुभएको बुझिएको छ । स्पष्टिकरण सोधिएका १२ जना नेतालाई योगेश र घनश्यामै जोडबलमा अहिले कारवाही अगाडि नबढाइएको बुझिन्छ ।

योगेश र घनश्यामको प्रयासमा तीन दिन अघि केपी शर्मा ओली र माधवकुमार नेपाल दुवैजनालाई एक अर्काे पक्षलाई प्रहार गरेर सार्वजनिक अभिव्यक्ति नदिन अनुरोध गरिएको छ । सो अनुरोध पछि दुवै नेता विवाद बारे बोल्नुभएको छैन । आफ्नै गुटभित्रबाट संस्थापन एमाले विरुद्ध नबोल्न दवाब आएपछि माधव केही मौन बस्न वाध्य हुनुभएको छ । सार्वजनिक रुपमा नबोले पनि उहाँले अनलाइन मिटिङहरुमा कांग्रेस र माओवादीको साथमा अगाडि बढ्ने, एमाले नफर्कने भनिरहनुभएको छ ।

माधव पक्षमा लागेका तर एमालेमा फर्कन चाहनेहरुसँग संस्थापनले विभिन्न च्यानलबाट कुरा गरिरहेको बुझिएको छ । इश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल लगायतका नेताले आआफ्नो तर्फबाट माधव गुटमा लागेकाहरुसँग छलफल अगाडि बढाइरहनुभएको बुझिएको छ । माधव गुटमा लागेका विभिन्न गाउँ तथा नगरका जनप्रतिनिधि तथा जनाधार भएका कार्यकर्ताहरु धमाधम एमालेमा फर्किरहेका छन् । अहिले केन्द्रमा मात्र माधव गुटकाे चलखेल धेरै रहेकाे छ ।

एमालेले आज पनि स्थायी समिति बैठक बोलाएको छ । अपरान्ह बस्ने बैठकमा योगेश र घनश्याम सहभागी हुने या नहुने भन्ने प्रष्ट भइसकेको छैन ।



प्रतिक्रिया दिनुहोस !