३१ बैशाख २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

टीकापुर अस्पताललाई स्वास्थ्य सामग्री प्रदान

प्रकाशित मिति :  १७ जेष्ठ २०७८, सोमबार ०२:३४


लण्डन । कैलालीको टीकापुर अस्पताललाई बेलायतमा बस्दै आएका तीन युवा व्यवसायीले स्वास्थ्य सामग्री प्रदान गरेका छन् ।

झापा बाह्रदशी गाउँपालिका राजगढ स्थायी घर भई बेलायतमा एक दशकभन्दा बढी बस्दै आउनुभएका टंक भट्टराई र काठमाडौं घर भएका आशिष महर्जन र जेनिस गिरीको संयुक्त प्रयासबाट पाँच वटा अक्सिजन कन्सन्ट्रेटर अस्पताललाई आइतबार हस्तान्तरण गरिएको हो ।

स्वास्थ्य क्षेत्रमा काम गरिरहनुभएका डा अभिषेक न्यौपानेमार्फत टीकापुर अस्पतालका सुपरिटेन्डेन्ट डा रेमकुमार राईलाई पाँच लाख रुपैयाँ बराबरको उक्त कन्सन्ट्रेटरहरू एक कार्यक्रमका बीच प्रदान गरिएको थियो ।

बेलायतमा स्थापित समाजसेवीका रूपमा परिचित भट्टराई परोपकारी संस्था कोडेकका अध्यक्षसमेत हुनुहुन्छ । उहाँले गिरीसँगै मिलेर हचटिआर नामक मानव श्रम व्यवस्थापनमार्फत स्वास्थ्य क्षेत्रमा रोजगारीसमेत दिँदै आइरहनुभएको छ । त्यस्तै महर्जन पेशाले इन्जिनियर हुनुहुन्छ । उहाँले भट्टराईकै संस्थामा प्राविधिकरूपमा सहयोग गरिरहनुभएको छ ।

‘तीनै जना कोभिड सङ्क्रमित भई हाल निको भएका छौँ, बेलायत जस्तो देशमा त हामीलाई यति गाह्रो भयो भने नेपालमा कति गाह्रो होला भन्ने सोचेर हामी तीन जनाले सहयोग गर्ने निर्णय गरेका हौँ’, भट्टराईले भन्नुभयो ।

भट्टराई अध्यक्ष रहेको परोपकारी संस्थाले पनि कोरोना सङ्क्रमितका लागि सहयोग गर्दै आएको छ ।

–रासस



प्रतिक्रिया दिनुहोस !