४ जेष्ठ २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

हुम्ला सदरमुकाम राष्ट्रिय राजमार्गमा जोडिने

प्रकाशित मिति :  १६ जेष्ठ २०७८, आईतवार ०५:३६


सिमकोट । हुम्लाको जिल्ला सदरमुकाम सिमकोटलाई आगामी आर्थिक वर्ष राष्ट्रिय राजमार्ग संजालमा जोडिने भएको छ ।

बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार हुम्लाको सदरमुकाम सिमकोटलाई आगामी आर्थिक वर्षमा जोडिने जानकारी दिनुभयो ।

नेपालका ७७ जिल्ला सदरमुकाममध्ये सिमकोटबाहेक ७६ सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन् । सरकारका प्रत्येक वर्षको बजेट भाषणमा सिमकोटलाई राष्ट्रिय राजमार्गमा जोड्ने जनाइए पनि अहिलेसम्म जोडिन सकिरहेको छैन । यस्तै सरकारले बजेट भाषणका क्रममा हुम्लाका सिमकोटसहित डोल्पाको तल्लो डोल्पालगायत क्षेत्रमा पदयात्रा मार्ग निर्माण गरिने जानकारी दिएको छ ।

जिल्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाको यारीलाई सुक्खा बन्दरगाहको पूर्वतयारी सम्पन्न गरी निर्माण प्रारम्भ गरिने  भएको छ । यसैगरी सरकारले यारी, हिल्सा क्षेत्रलाई पहुँचमार्ग निर्माण तथा सुधारका लागि बजेटको व्यवस्था गरेको छ ।

हुम्लासहित देशभरका सबै जिल्ला अस्पतालमा प्रसूति तथा नवजात शिशु स्याहार सेवा सञ्चालनमा ल्याइने भएको छ ।

मातृ स्वास्थ्यमा सुधार ल्याउन हुम्ला, डोल्पा, मुगु, बझाङ्गलगायत दुर्गम क्षेत्रका २० जिल्लामा प्रसूति समय अगाडिको स्वास्थ्य जाँच र औषधिको सुविधासहितको मातृ प्रतीक्षागृह संजालन गरिने जनाइएको छ ।

– रासस



प्रतिक्रिया दिनुहोस !