१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

लगातारको वर्षाले किसान दिक्क

प्रकाशित मिति :  १५ जेष्ठ २०७८, शनिबार ०९:२१


महोत्तरी। लगातारको वर्षाले महोत्तरीका किसान वाक्कदिक्क भएका छन् । बिहीबार अबेर साँझदेखि सुरु भएको वर्षा तेस्रो दिन आज पनि नथामिएपछि किसान विरक्त भएका हुन् । खेत गह्रा पानीले डम्म भरिएका छन् ।

भर्खरै एक साताअघिको वर्षापछि राखिएको बर्खे धान र कोदोको ब्याड पानीले डुबाएको छ । अघिल्लो वर्षाले लहलहाएका मकैका बोट बिहीबार साँझ वर्षा सुरु हुनपूर्वको वेगले बहेको हुरीले सोतर बनाएर लडाएको छ । झमझम साउने झरी झैँ पानी परी रहेपछि काममा निस्कन नपाएर किसान छट्पटिएका छन् ।

‘एक साताअघि गोडेको मकै हुरीले लडाएर सोतर बनेको छ, हुरीले तरकारीका बेलापात चुँडाएर हुत्यायो, फलेका आँप बग्रेल्ती झार्‍यो सहनै परेको छ’, बर्दिबास नगरपालिका–५ गणन्ताका ८० वर्षीय धनबहादुर स्याङ्वा भन्नुहुन्छ, ‘रोगको महामारी अहिले नै प्रतिकूल वर्षा अहिले नै ! खै सबै हामीमाथि खनिएजस्तो छ, उठ्न नदिने भयो क्यार ?’

बर्खे धान र कोदो रोप्न ढिलो भइरहेको बेला ब्याड नै डुबेपछि बीउ गल्ने किसानको चिन्ता छ । सबैतिर पानी डम्म भरिएर काट्ने ठाउँ नहुँदा बीउ गल्ने चिन्ता बढेको भङ्गाहा–४ का किसान बहुरा महतो बताउनुहुन्छ । ‘पहिले राखेको ब्याड डुबेर गल्ने भयो, अब राख्दा ढिलो हुन्छ, ल भन्नोस् अब हामीले कसरी गरी खाने ?’, महतोको अजङ्गको प्रश्न छ ।

लगातारको वर्षाले चरन क्षेत्र डुब्दा घरपालुवा जनावरको बिजोग भएको छ । लगातार गोठमा कोचिएर रहेका जनावर भोकले कराउँदा मन भक्कानिने गरेको भङ्गाहा–३ कटैयाका पशुपालक किसान रामराजी यादव बताउनुहुन्छ । लगातारको वर्षाले पशुवस्तुको आहारा जोहो गर्न नसक्दा बिजोग हेरेर बस्नु परेको यादवको भनाइ छ ।

वर्षाले ग्रामीण सडक हिलाम्य भएका छन् । कैयौँ ठाउँमा बस्ती डुब्न नदिन सडक काटेर पानी बगाउनु परेको छ । सडक निर्माणताका नै पानीको निकास प्रबन्ध नगरिँदा अहिले सडकको दुरावस्था भएको ग्रामीण सर्वसाधारण बताउँछन् । कोभिड–१९ महाव्याधि छल्न गत वैशाख २२ गते जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाको अवधि बढाएर यही जेठ २० गतेसम्म पुर्‍याइएको छ । व्याधिको प्रकोप झेलिरहेका सर्वसाधारण अहिलेको प्रतिकूल वर्षाले खेतीपाती गर्न नदिएपछि अबको गुजारा कसरी चलाउने भन्नेमा रनभुल्ल परेका छन् ।


0
Shares

प्रतिक्रिया दिनुहोस !