५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

गणतन्त्रका विरोधीबाट मूल्य–मान्यतामाथि निरन्तर प्रहार भइरहेकाे छ-प्रचण्ड

प्रकाशित मिति :  १५ जेष्ठ २०७८, शनिबार ०३:४९


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले   गणतन्त्रका विरोधीबाट यसका मूल्य–मान्यतामाथि निरन्तर प्रहार भइरहेको बताउनु भएको छ ।

गणतन्त्र दिवसको अवसरमा शनिबार शुभकामना सन्देश दिँदै प्रचण्डले पारस्परिक सम्मान, सहअस्तित्व र सहभागितामूलक राजनीतिले नै मुलुकको सर्वाङ्गीण विकास सम्भव रहेको बताउनुभएको छ । ‘प्रतिशोधी भावना, अहंकारी सोच र शैली गणतन्त्रवादी संस्कार हुनै सक्दैन’, शुभकामना सन्देश दिँदै प्रचण्डले भन्नुभएको छ ।

नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै गणतन्त्रात्मक संस्कार र संस्कृति निर्माण गर्न प्रतिगामी तत्व विरोधी सम्पूर्ण लोकतन्त्रवादी शक्तिहरुबीच सुदृढ राष्ट्रिय एकता अपरिहार्य रहेको उहाँले बताउनुभएको छ ।

विश्व महामारीको रुपमा फैलिएको कोभिड रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डहरुको पालना गर्न पनि उहाँले आग्रह गर्नुभएको छ ।  आफू र आफ्नो समाजलाई सुरक्षित राख्न उहाँले सबैमा अपिल गनुभएको छ ।

स्वदेशमै उपलब्ध साधनस्रोतको उचित व्यवस्थापन नहुँदा पनि नागरिकले ज्यान गुमाउनु परिरहेको स्थिति आएको प्रचण्डले उल्लेख गर्नुभएको छ । ‘कतै अस्पतालमा विद्युत आपूर्ति बन्द हुँदा संक्रमितले ज्यान गुमाइरहेका छन् भने कतै अस्पतालभित्र स्वास्थ्यकर्मी र चिकित्सकमाथि सांघातिक आक्रमण हुँदा उपचार नपाई नागरिकको ज्यान गइरहेको छ’, प्रचण्डको शुभकामना सन्देशमा उल्लेख छ ।

यसप्रकारका घटनाको माओवादी पार्टीले निन्दा गरेको छ । अस्पताल क्षेत्रको सुरक्षा र अत्यावश्यक सामग्रीको आपूर्तिका लागि  उहाँले सरकारसँग माग समेत गर्नुभएको छ ।



प्रतिक्रिया दिनुहोस !