१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

दुई पालिकाले कोभिडविरुद्धको खोप खरिद गर्न मागे अनुमति

प्रकाशित मिति :  १४ जेष्ठ २०७८, शुक्रबार ०५:००


दमौली । सरकारले अनुमति दिए तनहुँका दुई पालिकाले कोभिडविरुद्धको खोप खरिद गर्ने भएका छन् । म्याग्दे गाउँपालिका र व्यास नगरपालिकाले कोरोना महामारीविरुद्ध आफैँ खोप खरिद गर्ने भन्दै अनुमति दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग माग गरेको हो ।

सरकारले खोप उपलब्ध गराउन समय लागेपछि आफैँले खरिद गर्ने भन्दै गाउँपालिकाले मन्त्रालयसँग अनुमति माग गरेको हो । गाउँपालिका अध्यक्ष मायादेवी राना र उपाध्यक्ष बालकृष्ण घिमिरेले मन्त्रालयलाई पत्र लेख्दै कोभिड भ्याक्सिन बाहिरबाट खरिद गर्नका लागि अनुमति दिन आग्रह गर्नुभएको छ ।

गाउँपालिकाले आफ्नै आन्तरिक स्रोत तथा विकास बजेट कटौती गरेर भए पनि भ्याक्सिन खरिदमा लगानी गर्ने अध्यक्ष रानाले बताउनुभयो । ‘स्थानीय नागरिकबाट उक्त भ्याक्सिनको अत्यधिक माग तथा अनुरोध भई आएकाले सरकारले यथाशीघ्र भ्याक्सिन उपलब्ध गराइदिओस्, नत्र भने नागरिकको जीवनरक्षाका लागि हामी आफैँ खरिद गर्छौं, त्यसका लागि अनुमति दिओस्’, रानाले भन्नुभयो ।

गाउँपालिकाले सबै नागरिकलाई कोभिडविरुद्धको खोप दिन चाहेको र त्यसका लागि सरकारले खरिद गरेको मूल्य र मापदण्डअनुसार खोप खरिद गर्न मन्त्रालयसँग अनुमति माग गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताउनुभयो । ‘सरकारले अनुमति दिए विकास बजेट कटौती गरेर भए पनि खोप खरिद गर्छौँ’, अधिकारीले भन्नुभयो ।

सरकारसँग खोप किन्ने स्रोतको कमी भएको सुन्नमा आएकाले गाउँपालिकाले नागरिकको जीवनरक्षाका लागि विकास बजेट कटौती गरेर खोप किन्न चाहेको उपाध्यक्ष घिमिरेले बताउनुभयो । विकास निर्माणभन्दा खोपलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ । ‘जनता बचेनन् भने विकासको के अर्थ रहन्छ, अहिले बाटो हिँड्नै पाएका छैनन् मान्छे, घरमा थुनिएर बस्नुपरेको छ’, उहाँले भन्नुभयो, ‘पहिलो त नागरिकको जीवनरक्षा नै ठूलो कुरा हो ।’ उपाध्यक्ष घिमिरेका अनुसार खोप खरिदका लागि हालसम्म कुनै कम्पनी वा व्यक्तिसँग सम्पर्क नभए पनि अन्य स्थानीय तहसँग मिलेर खरिद गर्न सकिनेछ ।

सदरमुकामस्थित व्यास नगरपालिकाले पनि सरकारले अनुमति दिए आफैँले खोप खरिद गर्ने बताएको छ । नगरवासीलाई आवश्यक पर्ने खोप सरकारकै तर्फबाट उपलब्ध गराउन माग गर्ने र उपलब्ध हुन नसकेको खण्डमा नगरपालिकाले नै खरिद गरी लगाउने व्यवस्था मिलाउन सरकारसँग अनुमति माग गरिएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताउनुभयो ।

‘कोभिड–१९ को संक्रमण विभिन्न भेरिएन्टमा पटक–पटक महामारीको रूपमा फैलिएको र यसको नियन्त्रणको सबैभन्दा उत्तम विकल्पका रूपमा देखिएको कोभिडविरुद्धको खोप लगाउनका लागि सरकारले विभिन्न चरणमा अभियान सञ्चालन गर्‍याे’, न्यौपानेले भन्नुभयो, ‘तथापि यो खोप आम नागरिकको पहुँचमा सहजरूपमा पुगिसकेको छैन ।’

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !