१८ बैशाख २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

काठमाडाैं  उपत्यकामा आजदेखि निषेधाज्ञा निक्कै कडा

प्रकाशित मिति :  १४ जेष्ठ २०७८, शुक्रबार ०३:४५


काठमाडाैं । काठमाडाैं  उपत्यकामा आजदेखि निषेधाज्ञालाई निक्कै कडाइ पारिएकाे छ ।

आजदेखि जेठ २० गतेसम्म स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन गर्ने विरुद्ध थप कठोर हुने काठमाडाैं, भक्तपुर र ललितपुर जिल्ला प्रशासनले जनाएका छन् । निषेधाज्ञा उल्लंघन गर्नेलाई जरिवानासहित कडा कारबाही हुनेछ । अपेक्षा गरिएअनुसार संक्रमण घट्न नसकेपछि प्रशासन कडा बनेकाे हाे ।

गत मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले खाद्यान्न पसलसमेत खोल्न नदिने निर्णय गरेको थियाे । साेही निर्णय अनुसार आजदेखि उपत्यकाका खाद्यान्न पसलसमेत पूर्ण रुपमा बन्द गरिएको छ । तरकारी, फलफूल, दूध, मासु र खाना पकाउने ग्यास तथा खानेपानीका पसल बिहान ९ बजेसम्म मात्रै खोल्न पाइनेछ ।

निषेधाज्ञा उल्लंघन गर्नेलाई दण्ड र जरिवाना समेत तिराइनेछ । हालै ल्याइएको कोभिड-१९ संक्रमण व्यवस्थापनका सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश अनुसार जरिवानासहित कारबाही हुने जानकारी काठमाडौं जिल्ला प्रशासनले यसअघि नै दिइसकेकाे छ ।

कसैले अध्यादेश बमोजिमको काम गर्न अवरोध सिर्जना गर्न नहुने र गरेमा १ वर्षसम्म कैद वा ५ लाख रुपैयाँसम्म जरिवाना हुनेछ । अध्यादेश बमोजिम जारी भएको मापदण्ड पालना गर्नुपर्नेछ र नगरेमा ६ महिना सम्म कैद, ३ लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुनेछ । अध्यादेश बमोजिम दिइएको आदेश व्यक्तिले उल्लंघन गरेमा १ लाख र संस्थाले गरेमा ५ लाख रुपैयाँसम्म जरिवाना हुनसक्नेछ ।

सरकारी गाडीलाई दिउँसो सञ्चालन गर्न दिइने छैन । जसअनुसार आजदेखि एकसाता सरकारी कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकका सवारीसाधन बिहान साढे ९ बजेदेखि साढे १० सम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्र चल्न पाउनेछन् ।

संक्रमण बढ्न थालेपछि वैशाख १६ गतेदेखि काठमाडाैं उपत्यकामा निषेधाज्ञा लागू छ । सुरुमा एक साताका लागि लागू भएको निषेधाज्ञा वैशाख २२ गते फेरि एक साता थपिएको थियो । वैशाख ३० गते फेरि दुई साता थपिएको थियो । पछिल्लो पटक थपिएको निषेधाज्ञा जेठ १३ गते सकिँदै थियाे । तर जेठ ११ गते बसेकाे उपत्यकाका प्रजिअहरुकाे बैठकले थप एक साता कडाइसाथ निषेधाज्ञा थप्ने निर्णय गर्‍याे साे निषेधाज्ञा अब जेठ २० सम्म कायम रहनेछ ।



प्रतिक्रिया दिनुहोस !