१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

जग्गा कब्जा गर्ने प्रयासमा लागेका केही परिवारले दमकमा तहल्का मच्चाए

प्रकाशित मिति :  १२ जेष्ठ २०७८, बुधबार ०२:२०


दमक । नगरपालिकाको जग्गा कब्जा गर्ने प्रयासमा लागेका केही परिवारले दमकमा तहल्का मच्चाएका छन् ।

दमक नगरपालिकाको १० कठ्ठा जग्गा लुट्ने प्रयासमा लागेका ६ परिवारले तहल्का मच्चाएका हुन् । उनीहरुले मिडियालाई बोलाएर प्रहरीमाथि आक्रमण गरेका छन् भने एक प्रहरीको हात पनि टोकिदिएका छन् ।

दमकको वडा नम्बर ७ को पञ्चमुखी टोलमा १९ परिवारले नगरपालिकाको १० कठ्ठा जग्गा कब्जा गरेका थिए । उनीहरुमध्ये १३ परिवारलाई नगरपालिकाले व्यवस्थापन गरिसकेको छ । ६ परिवारले पनि कब्जा जग्गा छाडिसकेका थिए । तर, निषेधाज्ञाको सुनसान मौका पारेर ती ६ परिवार सोही जग्गामा टहरा बनाउने भन्दै आएका थिए ।

दमक नगरपालिकाले प्रहरी लगाएर सोमबार बिहान निर्माण कार्य रोक्न खोजेको थियो । तर, आफूलाई सुकुम्वासी भन्ने परिवारले महिला सदस्यहरुलाई अगाडि सारेर सुरक्षाकर्मीलाई आक्रमण गराएको थियो ।

ती परिवारले सरासर नाजायज काम गरेको बताउनुहुन्छ वडा नम्बर ७ का अध्यक्ष भीम पौडेल । उहाँको भनाई छ– ‘नगरपालिकाको नम्बरी जग्गा आफ्नो नाममा दिनुपर्छ भन्ने उनीहरुको भनाई छ । यो कसरी सम्भव हुन्छ ? त्यो जग्गा कब्जा गरेर बसेका १९ परिवार मध्ये आठ परिवारलाई हामीलाई घर बनाएर राखिदिएका छौं ।’

घर बनाएर राखिदिएको आठ परिवार बाहेक अन्य पाँच परिवारलाई खर्चवर्च र क्षतिपूर्ति दिएर चित्त बुझाएर विदा गरिएको पौडेल बताउनुहुन्छ ।

‘अहिले कब्जा गरेर बस्न खोज्नेहरु मुद्दा हाल्न पनि गएका थिए, अदालतले उनीहरुलाई हराइदियो । सुकुम्वासी हूँ भन्दै जग्गा कब्जा गर्ने एकजनाको पाँचथरमा बकाइदा घरजग्गा छ । उनी अँधियामा दिइर यहाँ बसेका छन् । अर्का परिवारको बाहुनडाँगीमा जग्गा छ, उनी पनि आफूलाई सुकुम्वासी भन्छन्’– पौडेलले बताउनुभयो ।

नगरपालिकाको जग्गा लुट्न खोज्ने ६ परिवारलाई पनि बसोबासका लागि नगरपालिकाले घरजग्गा दिने प्रस्ताव राखेको तर नमानेको पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘नेपालका सारा मिडिया आएर तथ्य हेरुन्, सामाजिक संघसंस्था सबै आउन्, मानवअधिकारवादी पनि सबै आउन्, तथ्य हेरुन्, ती ६ परिवारलाई बसोबासको व्यवस्था गरिदिँदा पनि मान्दैनन्, नगरपालिकाको जग्गा नै लुट्न खोज्छन् । म चुनौती दिएर भन्छु– ती ६ परिवार सरासर गलत छन् । उनीहरुलाई न्याय दिँदा नहुने, नगरपालिकाको सम्पत्ति लुटेर नगरपालिकालाई नै अन्याय गर्न पाउनुपर्छ भन्दैछन् । यो कुरा कसरी मान्य हुन्छ ?’– पौडेलको भनाई छ ।

दमक तथा आसपासका क्षेत्रमा सरकारी जग्गा कीर्ते गरेर, विभिन्न नक्कली कागज बनाएर तथा बलजफ्ती कब्जा गरिएको गुनासो गर्दै उहाँले भन्नुभयो– ‘हटाउन खोज्यो भने पार्टीलाई अगाडि सार्छन् । पार्टीको नेता हुँ भन्दै दर्जनौं बिगाहा जग्गा कब्जा गरेका छन् । कुरा गर्दा वाक्यै पिच्छ देश र जनता भन्छन्, गरिबको उद्दार गर्ने भन्छन् तर व्यवहारमा चाहिँ सरकारी जग्गा लुट्ने, कीर्ते काम गर्ने मात्र गर्छन्, यस्ताको लहलहैमा नगरपालिकाको जग्गा कब्जा गरिन्छ भने दमकका एकजना जनताले पनि मान्नेवाला छैनन्’– पौडेलले भन्नुभयो ।

‘दमक नगरपालिकाको जग्गा लुट्न दिन्न, सुकुम्वासीका नाममा हुकुम्वासीले मच्चाएको आतंक कुनै हालतमा मान्य हुँदैन । काठमाडौंको मिडियाले कुरा नबुझी सनसनी मच्चाएर समाचार दिइरहेका छन् । आफ्ना संवाददाताहरुले कुन स्वार्थ र प्रलोभनमा परेर सनसनीपूर्ण समाचार दिएका हुन् भन्ने काठमाडौंका मिडियाहरुले बुझ्नुपर्छ’– वडा अध्यक्ष पौडेलले भन्नुभयो ।

दमक नगरपालिकाका मेयर रोमनाथ ओलीको भनाई छ– ‘नगरपालिकाको जग्गा लुट्न दिनुपर्छ भन्ने कुन कानुनमा लेखेको छ ? नगरपालिकाको जग्गा सबै जनताको साझा हो । साझा हो भन्दैमा केही व्यक्तिलाई जग्गा दिन सकिँदैन ।’ पञ्चमुखीको १० कठ्ठा जग्गा प्रकरणमा नगरपालिकालाई लुट्न खोजिएको बताउँदै मेयर ओलीले भन्नुभयो– ‘नगरपालिकाको नम्बरी जग्गा लुट्न दियौं भने भोलि यही नगरपालिका भवन पनि मेरो भयो भन्दै कब्जा गर्लान्, त्यसबेला हामीले के गर्ने ? त्यसैले कुनै हालतमा धाकधम्कीका भरमा लुटलाई मान्यता दिन सकिँदैन ।’

जग्गा कब्जा गर्नेहरुको भनाई छ– ‘नगरपालिकाले दिएको घर हामीलाई चाहिँदैन, हामीलाई यही जग्गा चाहिन्छ ।’


0
Shares

प्रतिक्रिया दिनुहोस !