१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

काठमाडौं महानगरपालिका परीक्षणको दायर बढाउँदै

प्रकाशित मिति :  ११ जेष्ठ २०७८, मंगलवार ०४:१०


काठमाडौं । कोभिड–१९ संक्रमण फैलिने क्रम बढिरहेको भन्दै काठमाडौं महानगरपालिकाले परीक्षणको दायर बढाएको छ । यही जेठ १४ देखि १८ सम्म पाँच दिनमा ५० हजार व्यक्तिको एन्टिजेन परीक्षण गर्ने तयारी रहेको छ ।

परीक्षणका लागि हरेक दिन १० वटा केन्द्रबाट एन्टिजेन विधिबाट नमूना संकलन गरिने छ । यसका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँगको सहकार्य रहने कामपा जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर जानकारी दिनुभयो । प्रमुख कुँवरका अनुसार समुदायमा यस विधिबाट तत्काल नतिजा आउने हुँदा पोजिटिभ देखिएका बिरामीलाई थप परीक्षण र आइसोलेशनका माध्यमबाट समुदायबाट छुट्याउँदै लान सजिलो हुनेछ ।

कामपाका प्रायः सबै वडामा मानिसको बाक्लो बस्ती रहेकाले पछिल्लो समय हरेक दिन कामपामा संक्रमण बढिरहेका छन् । नयाँ भेरियन्टको कोभिड–१९ संक्रमणबाट मानिस थला पर्न थालेपछि महानगरले सम्पर्क चक्र टुटाउन यस किसिमको अभ्यास गर्न लागेको हो ।

ठूलो समूहमा गर्न लागिएको यस किसिमको परीक्षणका लागि हाल काम गरिरहेका जनशक्तिले अपुग भए थपेर भए पनि परीक्षण गर्ने बताइएको छ । परीक्षणका लागि वडामा भएका केस इन्भेष्टिगेशन एण्ड कन्ट्याक्ट ट्रेसिङ समूहलाई सक्रिय बनाइनेछ ।

कोभिडको लक्षण देखिएका, कन्ट्याक्ट ट्रेसिङमा परेका, अग्रपङ्क्तिमा रहेर काम गरिरहेका, निषेधाज्ञाको समयमा काम गरिरहेका र जोखिममा रहेका सबैलाई लक्षित वर्ग मानेर परीक्षण गरिने छ । परीक्षणका लागि कामपाका ठूला १५ वडामा प्रतिवडा दुईवटा केन्द्र र १७ वटा साना वडामा एक÷एक केन्द्र राखिनेछन् । आवश्यकताका आधारमा अन्य केही केन्द्र थप गर्न सकिने विभागले जनाएको छ ।

यसअघि कालिमाटी तरकारी तथा फलफूल बजार र टुकुचा तरकारी बजारमा गरी दुई ठाउँमा यस प्रकारको परीक्षण सम्पन्न भएको छ । हालसम्म कामपामा ५८ हजार ४०२ जना संक्रमित रहेका छन् । तीमध्ये ४६ हजार पाँच सय ४६ निको भइसकेका छन् भने चार सय तीनको कोरोनाका कारण ज्यान गएको छ । अहिले ११ हजार पाँच सय ४६ सक्रिय संक्रमित रहेका छन् ।

कामपाको ३२ वडाबाट मात्रै अहिले दैनिक ६ सय जनाको पिसिआर परीक्षण हुने गरेको र परीक्षण गरिएकामध्ये चार सय भन्दा बढीमा पुष्टि हुने गरेको कामपा जनस्वास्थ्य महाशाखाले जनाएको छ । संक्रमण बढेपछि अघिल्लो आइतबारदेखि कामपाले १६ वटा केन्द्र बनाएर पिसिआर परीक्षण गरिरहेको छ ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !