१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

जेठ १२ गते चन्द्रग्रहण, नेपालबाट नदेखिने र वार्नु पनि नपर्ने

प्रकाशित मिति :  १० जेष्ठ २०७८, सोमबार ०९:२१


काठमाडौं । जेठ १२ गते वैशाख शुक्ल पूर्णिमाका दिनमा लाग्ने चन्द्रग्रहणको छायाँ नेपालबाट नदेखिने भएकाले यसको सूतक नलाग्ने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

नेपाली आकाशमा चन्द्रोदय हुनुअघि नै मोक्ष हुने भएकाले सघन छायाँ (पृथ्वीको छायाँको कालो भाग) देख्न नसकिने समितिका सदस्य सचिव एवं सूर्य पञ्चांगका पञ्चांगकार सूर्यप्रसाद ढुंगेलले जानकारी दिनुभयो । ‘नदेखिने ग्रहणका विषयमा पात्रो (पञ्चांग) मा सूचना दिइँदैन, अल्पग्रास भएर लाग्ने ग्रहण पनि बार्नुपर्दैन अर्थात् सूतक लाग्दैन भन्ने शास्त्रीय वचन छ’, उहाँले भन्नुभयो ।

यो छायाँजनित ग्रहण भएकोले समितिले प्रकाशन अनुमति दिएका पात्रोमा उल्लेख नभएको हुन सक्ने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । ‘पौराणिक ज्योतिष शास्त्रमा यस किसिमको ग्रहणको अस्तित्व स्वीकार गरिएको देखिँदैन’, सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले भन्नुभयो ।

सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै सरल रेखामा परेको खण्डमा चन्द्रग्रहण लाग्ने गर्छ । चन्द्रग्रहण भनेको पृथ्वीको छायाँ चन्द्रमामा पर्नु हो । यस्तो छायाँ दुई प्रकारका हुन्छन् । सघन तथा विरल । सुनेको सूतक र देखेको ग्रहण मात्र लाग्ने शास्त्रीय मान्यता छ । यसैले जेठ १२ गते ग्रहण बार्नु नपर्ने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख गरिएको छ ।

सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सूतक लाग्ने धर्मशास्त्रविद् समेत रहनुभएका समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताउनुभयो ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !