१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

देउवाकाे विज्ञप्तिमा तल्लाे स्तरकाे शब्द प्रयाेग

प्रकाशित मिति :  ८ जेष्ठ २०७८, शनिबार १०:२७


काठमाडौं । प्रधानमन्त्री बन्न नपाउनुभएका कांग्रेस सभापति शेरबहादुर देउवाको आक्रोश चरमचुलीमा पुगेको छ ।

प्रधानमन्त्री बन्न नपाएको आक्रोशमा कांग्रेस देउवाले राष्ट्रपति संस्थालाई ‘तँ’ शैलीमा टिप्पणी गर्दै विज्ञप्ति जारी गर्नुभएको छ । उहाँको विज्ञप्तिमा ‘तपाईं’ सम्बोधन हुने शब्दावली प्रयोग नगरी ‘तँ’ सम्बोधन हुने गरी भाषा प्रयोग गरिएको छ ।

विज्ञप्तिमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि ‘तँ’ शैलीमा सम्बोधन गरिएको छ । कांग्रेसले विगतमा आफ्ना विज्ञप्तिमा कसैलाई पनि ‘तँ’ शैलीको सम्बोधन गर्ने गरेको थिएन ।

विज्ञप्तिमा प्रधानमन्त्रीलाई तँ शैलीको सम्बोधन गर्दै यस्तो लेखिएको छ– ‘प्रधानमन्त्री माननीय केपी शर्मा ओलीले प्रतिनिधि सभामा ३० दिन भित्र विश्वासको मत लिन नसक्ने भनी मन्त्रीपरिषद्बाट निर्णय समेत गराई राष्ट्रपतिलाई अर्को सरकार गठनका लागि अनुरोध गरे र सार्वजनिक रुपले पनि आफू विश्वासको मत लिन नसक्ने घोषणा गरे ।’

विज्ञप्तिमा ‘गर्नुभयो’ शब्दको सट्टा ‘गरे’ शब्द प्रयोग गरिएको छ ।

त्यसैगरी राष्ट्रपतिका बारेमा लेखिएको छ– ‘राष्ट्रपतिले छोटो समय दिई अर्को सरकार गठनको प्रक्रिया प्रारम्भ गरिन् ।’

विज्ञप्तिको अर्काे ठाउँमा लेखिएको छ– ‘नेपालको संविधान बमोजिम राष्ट्रपतिले मलाई तत्काल प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्नेमा त्यसलाई इन्कार गर्नु भयो ।’ यो एक ठाउँमा भने राष्ट्रपतिलाई ‘तपाईं’ लेखिएको छ । बाँकी ठाउँमा भने ‘तँ’ शैलीकै सम्बोधन लेखिएको छ । देउवाको विज्ञप्तिमा लेखिएको छ– ‘माननीय ओलीलाई प्रधानमन्त्रीमा निरन्तरता दिने काम गरिन् ।’

देउवाको विज्ञप्तिमा तँ शैलीलाई निरन्तरता दिँदै अगाडि लेखिएको छ– ‘गैर संवैधानिक दावीलाई स्वीकार गरी पुनः उनलाई नै प्रधानमन्त्रीमा निरन्तरता दिने कार्य असंवैधानिक मात्र होइन अनैतिक पनि हो ।’

देउवाको आक्रोश यतिमा सीमित छैन । उहाँले लेख्नुभएको छ– ‘राष्ट्रपति र प्रधानमन्त्रीले नेपाली जनताको आस्थाको केन्द्र संविधान जस्तो सार्वजनिक दस्तावेजलाई निजी सम्पत्तिका रुपमा आफू अनुकूल प्रयोग गरिरहेका छन् ।’

राजनीतिक विवाद र पक्ष विपक्ष हुँदा कांग्रेसले यसरी अशोभनीय शब्द विगतमा प्रयोग गर्ने गरेको थिएन । राष्ट्रपति र प्रधानमन्त्रीलाई ‘तँ’ शैलीले सम्बोधन गर्दै विज्ञप्ति दिनुलाई प्रधानमन्त्री बन्न नपाएको देउवाको आक्रोशको उपज ठानिएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !