१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

भक्तपुरमा संक्रमण र मृत्युदर बढ्दै, ९५ प्रतिशत संक्रमित होमआइसोलेसनमा

प्रकाशित मिति :  ८ जेष्ठ २०७८, शनिबार ०३:१५


भक्तपुर । भक्तपुरमा कोभिड–१९ को संक्रमण र मृत्युदर बढ्दै गएको छ । संक्रमणमा परेकामध्ये ९५ प्रतिशत होमआइसोलेशनमा रहेका छन् । कोरोना भाइरस संक्रमणकै कारण बिहीबार एकैदिन १४ जनाको ज्यान गएको छ ।

भक्तपुरमा शुक्रबारसम्म दुई सय ७१ जनाको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना भाइरस संक्रमण फैलिएसँगै भक्तपुरमा संक्रमण र ज्यान गुमाउनेकाे संख्या बढ्दै गएको कार्यालयका प्रमुख कृष्ण मिजारले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लामा अहिलेसम्म १७ हजार पाँच सय ७६ कूल संक्रमित रहेकामा चार हजार पाँच सय ५५ सक्रिय संक्रमित छन् । अस्पताल तथा विभिन्न आइसोलेसनमा दुई सय ३९ संक्रमित छन् । होमआइसोलेशनमा चार हजार एक सय ३४ बिरामी छन् । अहिलेसम्म १२ हजार नाै सय ९० संक्रमित निको भएका छन् ।

संक्रमणका कारण भक्तपुरमा एकैदिन १४ जनासम्मको ज्यान गएको छ । गएको दुई सातादेखि भक्तपुरमा लगातार संक्रमितको ज्यान गइरहेको छ । अस्पताल तथा स्वास्थ्य संस्थामा संक्रमितले शय्या पाउन सकिरहेका छैनन् । शय्या नभएर कतिपय बिरामीलाई अस्पतालको गेटबाटै फर्काउने गरिएको प्रमुख मिजार बताउनुहुन्छ । अस्पतालमा रहेकाहरुको पनि अक्सिजन अभाव भएर समस्या आएको छ ।

सक्रिय संक्रमित र मृत्युमध्ये सबभन्दा धेरै मध्यपुरथिमि, त्यसपछि सूर्यविनायक, त्यसपछि भक्तपुर नगरपालिकामा रहेको छ भने चाँगुनारायण नगरपालिकामा यी अनुपातमा ५० प्रतिशत संक्रमण र मृत्युदर कमी रहेको छ । जिल्लामा चार हजार पाँच सय ५५ सक्रिय संक्रमित रहेकामध्ये विभिन्न आइसोलेसन केन्द्रमा र होमआइसोलेशनमा भने चार हजार दुई सय ५६ रहेका छन् । संक्रमितमध्ये ९५ प्रतिशत होमआइसोलेशनमा रहेको उहाँको भनाइ छ । उहाँका अनुसार संक्रमितमध्ये अस्पतालबाट निको भएर फर्कनेको संख्या ७१ प्रतिशत रहेको छ ।

संक्रमणका कारण कोभिडको उपचार गराइरहेका भक्तपुरका सबै अस्पतालका शय्या भरिएका छन् । अक्सिजन नहुँदा भर्ना भएका बिरामीको उपचारमा पनि निकै समस्या आएको छ । भक्तपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. समित्रा गौतमले सबै शय्या कोरोना संक्रमित बिरामीले भरिएको बताउनुभयो ।

उहाँले अक्सिजन र स्वास्थ्य सामग्रीको व्यवस्था गर्न सके अस्पताल आएका सबै बिरामीको उपचार सहज हुने बताउनुभयो ।

-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !