३ जेष्ठ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

पश्चिमाञ्चल अस्पताललाई कोभिड अस्पताल बनाउन सिफारिस

प्रकाशित मिति :  ६ जेष्ठ २०७८, बिहीबार ०४:३६


कास्की । गण्डकी प्रदेश सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको प्रदेशकै सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोभिड अस्पताल बनाउन सिफारिस गरेको छ ।

नवगठित मन्त्रिपरिषद्को बुधबार साँझ बसेको बैठकले सो अस्पताललाई कोभिड रोकथाम, नियन्त्रण तथा उपचार अस्पताल बनाउनका लागि नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको मन्त्री तथा सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिनुभयोे । अहिले सो अस्पतालका ५० शय्यामा कोभिडका बिरामीको उपचार हुँदै आएको छ ।

मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्तामा मन्त्री बस्नेतलाई चयन गरेको छ । यसैगरी प्रदेश तथा नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. गिरधारी शर्मा र सदस्यमा डा. विष्णुराज बराललाई निरन्तरता दिएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको राजीनामा लगत्तै उहाँहरु पनि पदमुक्त हुनुभएको थियो । मुख्यमन्त्री गुरुङको राजनीतिक सल्लाहकारमा लमजुङको सुन्दरबजार नगरपालिका–३ निवासी डा भीष्म अधिकारीलाई नियुक्तिको निर्णय गरेको बताइन्छ ।

बैठकले प्रदेश सरकारको कार्यविभाजन नियमावली, ०७४ लाई संशोधन गरी मन्त्रालयहरु फेरबदल गर्ने निर्णय गरेको थियो । विगतमा मुख्यमन्त्रीसहित सात मन्त्रालय रहेकामा यसअघि सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकूद मन्त्रालय बनाइएको थियोे । अहिले पुनः तीन मन्त्रालय थप गरेर मन्त्रालयको संख्या ११ पुर्‍याइएको छ ।

मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको कार्यविभाजन नियमावलीलाई संशोधन गरेर मन्त्रालयको संख्या वृद्धि गरेलगत्तै प्रदेश प्रमुख सीताकुमारी पौडेलले मौजुदा मन्त्रिपरिषद्मा हेरफेर गरी कार्यविभाजन गर्नुभएको थियो ।

– रासस



प्रतिक्रिया दिनुहोस !