१६ बैशाख २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

जिल्ला अस्पताल डोटीलाई अक्सिजन सिलिन्डर सहयाेग

प्रकाशित मिति :  ३ जेष्ठ २०७८, सोमबार ०९:५१


काठमाडौं । अक्सिजन नहुँदा कोरोना संक्रमितको उपचारमा समस्या भएको खबर आएपछि वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेको पहलमा नेपालगञ्जबाट पठाइएका २२ थान भरिएका अक्सिजन सिलिन्डर जिल्ला अस्पताल डोटीलाई आज हस्तान्तरण गरिएको छ ।

जिल्लामा अक्सिजन नहुँदा कोरोना संक्रमणका बिरामीलाई उपचार गर्नमा समस्या भएपछि मन्त्री आलेको पहलमा आफुहरुले नेपालगञ्ज गएर अक्सिजन सिलिन्डर ल्याएर हस्तान्तरण गरेको बोलन्याथली नामक सामाजिक संस्थाका सुदूरपश्चिम अध्यक्ष तथा अभियानकर्मी यादव जोशीले बताउनुभयो ।

जोशीका अनुसार मन्त्री आलेले नेपालगञ्जमा अक्सिजन भर्नका लागि पहल गर्नु भएपछि भरिएका सिलिन्डरको रकम बोलन्याथलीले संकलन गरेकामा १५ हजार रुपैयाँ बाहेकको आर्थिक सहयोगबाट तिरी उक्त सिलिन्डर डोटी पु्‍र्‍याइएको हो । १५ हजार रुपैयाँ मन्त्री आलेले अक्सिजन भर्न दिएको जोशीले जानकारी दिनुभयो । अक्सिजन नभएर कोरोना संक्रमणका बिरामी आक्रान्त भएको जिल्लामा अक्सिजन सिलिन्डर आएपछि बिरामीका आफन्त निकै खुशी भएका छन् ।

जिल्ला अस्पतालका लागि अक्सिजनले भरिएका ठूला १७ तथा सानो पाँच गरी जम्मा २२ सिलिन्डर बोलन्याथलीका डोटी संयोजक जितबहादुर खड्काले आज हस्तान्तरण गर्नुभएको छ । बोलन्याथलीले सुदूरपश्चिममा विकास निर्माणदेखि सामाजिक क्षेत्रका काममा अग्रसरता देखाउदैँ वर्षौदेखि सहयोग गर्दै आएको छ ।

यसैगरी मन्त्री आलेको सहयोगमा ५० भरिएका अक्सिजन सिलिन्डर, ५० हजार मास्क डोटी जिल्ला अस्पताललाई र ५० हजार मास्क तथा ५० भरिएका अक्सिजन सिलिन्डर सेती प्रादेशिक अस्पताल कैलालीका लागि पठाउने तयारी भइरहेको छ ।

–रासस



प्रतिक्रिया दिनुहोस !