६ जेष्ठ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

’नेपालमा अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं’ अभियान

प्रकाशित मिति :  २ जेष्ठ २०७८, आईतवार ०९:२०


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुरु गरेको ’नेपालमा अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं’ अभियानमार्फत नेपाल ल्याइएका पाँच सय ६० अक्सिजन सिलिण्डर नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।

पश्चिम एशियामा रहेका नेपाली एवं ओमानस्थित नेपाली दूतावासको सहयोग तथा सहकार्यमा शनिबार नेपाल ल्याइएका ७५ लाख रुपैंया भन्दा बढीको अक्सिजन सिलिण्डर आज संघका  अध्यक्ष कुमार पन्त र संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गर्नुभएको एनआरएनए कोभिड उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभयो ।

ओमानदेखि काठमाडौंसम्म ल्याइएको अक्सिजन सिलिण्डर ढुवानीको खर्च भने नेपाल सरकारले बेहोरेको जनाइएको छ । सो अवसरमा स्वास्थ्यमन्त्री त्रिपाठीले संकटका समयमा सहयोग गरेकामा संघप्रति  आभार प्रकट गर्दै सिलिण्डर आवश्यकतानुसार लुम्बिनी प्रदेशमा दुई सय , सुदूरपश्चिममा एक सय , कर्णाली प्रदेशमा एक सय, प्रदेश नं २ मा ८५  र गण्डकी प्रदेशलाई ७५ थान वितरण गर्न   निर्देशनसमेत दिनुभयो ।

सिलिण्डर हस्तान्तरण  गर्दै अध्यक्ष पन्तले कोभिड – १९  संक्रमणले हाल नेपालमा ज्यादै कठिन र दुखदायी अवस्था सिर्जना हुँदै गइरहेको र संक्रमणका कारण मानवीय क्षति पनि बढिरहेकाले संघले विदेशस्थित राजदूतावास, कूटनीतिक नियोग, संघका राष्ट्रिय समन्वय समितिलगायत विभिन्न नेपाली संघसंस्था तथा गैरआवासीय नेपालीसँग सहकार्य गरिरहेको जानकारी दिनुभयो ।

संघका संस्थापक अध्यक्ष डा महतोले आफ्नो मुलुकमा आपत् परेका बेलामा सधैं गैरआवासीय नेपालीले सहयोग गरेको र भविष्यमा  पनि गरिरहने बताउनुभयो ।

– रासस



प्रतिक्रिया दिनुहोस !