१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सघन उपचार कक्षसहित एक सय ४० श्ययाको कोभिड वार्ड सञ्चालनमा

प्रकाशित मिति :  २ जेष्ठ २०७८, आईतवार ०७:३३


चितवन । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले सघन उपचार कक्षसहित एक सय ४० श्ययाको कोभिड वार्ड सञ्चालनमा ल्याएको छ ।

जिल्लामा संक्रमितको संख्या बढेसँगै अस्पतालले कोभिड वार्ड सञ्चालनमा ल्याएको हो । क्यान्सरका बिरामी र स्वास्थ्यकर्मीका लागि मात्र २० श्ययाको कोभिड वार्ड सञ्चालन गर्दै आएको अस्पतालले अन्य संक्रमितका लागि पनि उपचार गर्ने गरी श्यया थप गरेको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमका अनुसार अस्पतालका चारवटा विभागमा रहेका बिरामीलाई अन्यत्र व्यवस्थापन गरेर शनिबारदेखि कोभिड वार्ड सञ्चालन गरिएको छ । वार्डमा अहिले २४ संक्रमितको उपचार भइरहेको छ । कोभिड वार्डमा दुई भेन्टिलेटर आठ मनिटरसहितको सघन उपचार कक्ष सरहको सुविधा रहेको डा गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार भेन्टिलेटर र सघन उपचार कक्षको संख्या बढाउँदै लगिनेछ । कोभिड वार्डमा अक्सिजनको पाइपलाइन रहेका छन् । अस्पतालको आफ्नै अक्सिजन प्लान्ट भएकाले ठूलो समस्या नपर्ने अनुमान गरिएको छ । बिरामीको संख्या बढ्दै जाँदा र धेरै अक्सिजन चाहिने सङ्क्रमित आएमा भने अस्पतालको प्लान्टले नधान्ने उहाँको भनाइ छ ।

प्रदेश, संघिय सरकार र दातासँग भेन्टिलेटरलगायतका उपकरण माग गरेको डा. गौतमले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘वार्डलाई सकेसम्म सुविधा सम्पन्न बनाइने छ ।’ जिल्लामा संक्रमित बढ्दै गएपछि क्यान्सर अस्पतालले कोभिडको उपचार सुरु गरेको हो ।

यस जिल्लाका भन्दा धेरै बिरामी बाहिरबाट आएका छन् । चार सय ५० श्ययाको क्यान्सर अस्पतालमा हाल एक सय ७० जना क्यान्सरका बिरामी उपचाररत छन् । कोभिड वार्ड सञ्चालनमा आए पनि क्यान्सरका बिरामीको उपचार भने नरोकिने उहाँको भनाइ छ ।

यस अस्पतालमा क्यान्सर रोगको उपचारका लागि देशभरबाट बिरामी आउने गर्दछन् । अन्य समयमा भारतका सीमा क्षेत्रबाट समेत यहाँ बिरामी आउने गरेका थिए । चीन सरकारको सहयोगमा सो अस्पताल निर्माण भएको हो ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !