४ श्रावण २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

पत्रकार साईको काेभिड संक्रमणबाट निधन

प्रकाशित मिति :  २ जेष्ठ २०७८, आईतवार ०२:५९


राँझा । नेपालगञ्जमा कार्यरत पत्रकार रईश साईको कोभिड संक्रमणबाट शनिबार निधन भएको छ ।

नेपालगञ्जबाट प्रकाशित तथा संचालनमा रहेको खबर नेपालगञ्ज दैनिक र खबर नेपालगञ्ज डटकमका सम्पादकसमेत रहनुभएका साईको शनिबार उपचारका क्रममा शिक्षण अस्पताल नेपालगञ्जमा निधन भएको हो ।

नेपालगञ्ज निवासी स्व साईको शनिबार नै इस्लामिक परम्पराअनुसार अन्त्येष्टि गरिएको छ । साईको निधनप्रति नेपाल पत्रकार महासघ बाँके, प्रेस चौतरी नेपाल बाँके, प्रेस युनियन बाँकेलगायतका पत्रकारका सघसंस्थाले छुट्टाछुट्टै शोक सन्देश जारी गर्दै दिवंगत आत्माको चिरशान्तिको कामनासहित भावपूर्णा श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

दोस्रो भेरियन्टको कोभिड कहरबाट जोगिनका लागि पत्रकार महासंघ बाँके तथा पत्रकार निकट संघसंस्थाले स्वास्थ्यको पूर्ण पालना गर्दै संचार कर्म गर्न आग्रहसमेत गरेका छन् । वैशाख महिनामा मात्र बाँकेमा कोभिड संक्रमणका कारण दुई सय ४२ जनाको ज्यान गएको छ । वैशाख महिनामा बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका ७५ र जिल्लाकै एक सय ६७ जनाको ज्यान गएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार संक्रमणका कारण ज्यान गुमाउने १०१ महिला र एक सय ४१ पुरुष हुनुहुन्छ । बाँके जिल्लाका मात्र ७३ महिला र ९४ पुरुषको संक्रमणकै कारण ज्यान गएको छ । जिल्लामा करिब चार हजार सक्रिय संक्रमितले विभिन्न संस्थागत तथा होम आइसोलेशनमा स्वास्थ्यलाभ गरिरहेका छन् ।

करिब तीन हजारभन्दा बढी सङ्क्रमित होम आइसोलेशनमा रहेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति वलीले बताउनुभयो ।

– रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !