१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

गण्डकी प्रदेशमा सभामुखले नराम्रो नजिर बसाल्नु भएको छ- राजिव पहारी

प्रकाशित मिति :  २५ बैशाख २०७८, शनिबार ०७:३०


काठमाडौं । ‘गण्डकी प्रदेशमा सभामुखले नराम्रो नजिर बसाल्नु भएको छ, २७ गतेको संसद् अधिवेशन पनि चल्दैन’– नेकपा एमालेका प्रदेश सभा सदस्य राजिव पहारीले भन्नुभयो ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको एमाले सरकार विरुद्धको अविश्वास प्रस्ताव माथि मतदान गर्न बैशाख २७ गते प्रदेश सभा बैठक बोलाउने सहमति भएको छ । तर त्यो दिनको बैठक नचल्ने पहारीको भनाइ छ ।

अविश्वासको प्रस्ताव बैशाख १५ गते नै फेल भइसकेको उहाँको दावी छ । सांसद् पहारीले भन्नुभयो–‘गण्डकी प्रदेश सभामा सभामुखले संविधानमा नै नभएको अलोकतान्त्रिक नजिर बसाल्नुभयो, सरकारलाई असफल बनाउन आवश्यक मत नपुग्ने भएपछि मतदानको बेलामा प्रदेश सभा बैठक स्थगित गर्नुभयो, त्यसैले सरकार विरुद्धको अविश्वास प्रस्ताव सोही दिन असफल भइसक्यो ।’

कोभिड संक्रमण बढिरहेको बेला बैठक बोलाए सरकार बिरोधी कदम चालिएको उहाँले आरोप लगाउनुभयो । ‘जनताहरुलाई २५ जना भन्दाबढी भिडभाड नगर भन्ने, नेताहरु सयौँ जना एक ठाउँमा भएर आफैँ नियम उल्लंघन गर्ने ? २७ गते अधिवेशन हुन सक्दैन, सरकार सुरक्षित छ’– पहारीले भन्नुभयो ।

सभामुखलाई आफूखुसी मनलाग्दी गर्ने अधिकार नभएको पनि उहाँको भनाइ छ । ‘एक दुई जनालाई मुख्यमन्त्री बन्नुपर्यो भन्दैमा जति बेला पनि सरकार परिवर्तन हुन्छ र ? सभामुख पद भनेको आफँैं संविधान त होइनहोला नि’– पहारीले भन्नुभो ।

गण्डकीका सभामुख नेत्रप्रसाद अधिकारीले सभामुख पदको गरिमाकै अपमान गरेको उहाँको आरोप छ । ‘जे मन लाग्यो त्यही गरेर सभामुखले पदको दुरुपयोग मात्र होइन, बदनाम नै गर्नुभएको छ’– उहाँले भन्नुभयो ।

सांसद् पहारीका अनुसार गण्डकीमा २७ गते कोही सांसद् अनुपस्थित भए अधिवेशन स्थगित गर्नुपर्ने छ । ‘२७ गतेको अधिवेशनमा कोही अनुपस्थित भए भने सभामुखले त फेरि अधिवेशन स्थगित गर्नु पर्ला, त्यो खालको नजिर बसाल्नुभएको छ ।’

संसदीय अंक गणितको विषयमा विपक्षी गठबन्धन पनि बहुमतमा नरहेको उहाँले दावी गर्नुभयो । ‘२८ जनाको हस्ताक्षर सहित अविश्वासको प्रस्ताव दर्ता भएको हो, बहुमतले त होइन, यसकारण उहाँहरुसँग स्पष्ट बहुमत छैन, हामी अन्य दलहरुसँग वार्तामा छौ’ – सांसद् पहारीले भन्नुभयो ।

गण्डकी प्रदेश सभामा सरकार विरुद्धको अविश्वास प्रस्ताव माथि मतदान गर्ने समयमा सरकार विरोधी कांग्रेस माओवादी गठबन्धनको पक्षमा बहुमत नपुग्ने भएपछि गत बैशाख १५ गते सभामुखले सूचना टाँस गरेर बैठक स्थगित गर्नुभएको थियो । राष्ट्यिर जनमोर्चाका एकजना सांसद् बैठकमा अनुपस्थित भएको कारण देखाउँदै बैठक स्थगित भएको थियो ।

त्यस यता प्रदेश सभा बैठक बस्न सकेको छैन । कार्यव्यवस्था समितिको बैठकमा बैशाख २७ गते प्रदेश सभा बैठक राख्ने सहमति भएको छ ।
-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !