१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

संक्रमित बाेक्न जनप्रतिनिधिले दिए आफू चड्ने गाडी

प्रकाशित मिति :  २४ बैशाख २०७८, शुक्रबार ०६:१९


काठमाडौं । कोभिड संक्रमण बढ्दै गएप्छि स्थानीय तहका जनप्रतिनिधिले आफू चढ्ने गाडीलाई बिरामी बोक्ने गाडीको रुपमा प्रयोग गर्न सुरु गरेका छन् ।

कोभिड संक्रमित बिरामीलाई उपचार गर्न ट्याक्टरमा राखेर स्वास्थ्य संस्थामा लैजाँदै गर्दा बाटोमै निधन भएको समाचार सार्वजनिक भएपछि जनप्रतिनिधिले आफू चढेको गाडी बिरामी बोक्न प्रयोग गर्न सुरु गरेका छन् ।

डडेलधुराको अमरगढी नगरपालिकाले उपमेयर चढ्ने गाडी बिरामी बोक्न प्रयोग गरे लगत्तै रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरप्रमुख र उपप्रमुख दुवै चढ्ने गाडीलाई बिरामी बोक्ने काममा प्रयोग गर्न सुरु गरेको छ ।

यस अघि सो नगरपालिकाका दुईवटा  एम्बुलेन्स र नगर प्रहरीको गाडी बिरामी बोक्ने काममा प्रयोग हुँदै आएकोमा प्रमुख र उप्रमुख चढ्ने गाडी पनि बिरामी बोक्ने काममा नै प्रयोगमा ल्याउन सुरु गरिएको नगरप्रमुख वाशुदेव घिमिरेले बताउनुभएको छ ।

सो नगरपालिकाले संक्रमितको उपचारको लागि अक्सिजन सहितको ४० बेडको आइसोलेसन सुरु गरिसकेको छ । जहाँ अहिले २२ जनाभन्दा बढी संक्रमितको उपचार भइरहेको छ । सो नगरपालिकाको सभा हल र अतिथि कक्षलाई समेत आइसोलेसन कक्ष बनाउने गरी काम सुरु भइसकेको छ ।

प्रदेश १ को सुनसरी स्थित बराह क्षेत्र नगरपालिकाले पनि नगरप्रमुख र उपप्रमुखको गाडी बिरामी बोक्ने काममा लगाउन सुरु गरेको छ । गाडी चालकहरुलाई पाइआएको पारिश्रमिकमा ५० प्रतिशत जोखिम भत्ता थप गरी नगरपालिकाका दुईवटै गाडी बिरामी बोक्ने काममा प्रयोगमा ल्याइएको नगरप्रमुख निलम खनालले बताउनुभयो ।

अहिले नै अवस्था भयावह नभए पनि भोलिलाई हेरेर अहिले नै काम सुरु गरेको उहाँ बताउनुहुन्छ । सो नगरपालिकामा हाल २१ जनामा संक्रमण देखिएको छ । ‘बिरामी लैजान एम्बुलेन्स नपाएर ट्याक्टरमा लैजाँदा ज्यान गएको खबर सुनेपछि मैले यस्तो निर्णय गरेको हुँ’, खनालले भन्नुभयो ।

उहाँले जनता बाँचे राजनीति गर्ने र मेयर बन्ने बताउँदै पहिलो प्राथमिकता जनतालाई बचाउनु नै भएको बताउनुभयो । ‘म अत्यावश्यक काम परे मोटरसाइकलमा हिँडौँला भनेर गाडी बिरामी बोक्न लगाएको छु’, उहाँले भन्नुभयो ।

नियमित गाडी नचल्दा बिरामीलाई स्वास्थ्य संस्थामा जान नै समस्या परेपछि यस्तो निर्णय गर्नु परेको उहाँले बताउनुभयो  । गर्भवती, सुत्केरी महिला, अशक्त बिरामी, अपाङ्ता भएका मानिस त्यतिकै मर्ने भए, अस्पताल जानै पाउँदैनन्, धेरै सोचविचार गरेर उपलब्ध वडाध्यक्षज्यूहरु, प्रशासनिक कर्मचारी, चालक समेतलाई राखेर हामीले निर्णय गरेका हौँ’, उहाँले भन्नुभयो ।

नगरपालिका भरि यातायात साधन जानसक्ने सबै ठाउँमा ती गाडीले बिरामीलाई ल्याउने र लैजाने गर्ने छन् । सबै पालिकाका गाडी यो संकटको बेलामा यसरी प्रयोग गर्न सके बिरामीलाई उपचारको लागि लैजान सहज हुने उहाँको भनाइ छ ।

नगरपालिकाले संक्रमितको उपचारको लागि नगर अस्पताल स्थापना गरेको छ । नगर अस्पतालमा चौबिसैघण्टा सेवा दिने गरी चिकित्सक सहितका कर्मचारी खटिएका छन् ।

स्वास्थ्यकर्मी र स्वास्थ्यका कर्मचारीको लागि खाने बस्ने सहितको सबै व्यवस्था अस्पतालमा नै नगरपालिकाले गरेको छ । नगर अस्पतालले अहिले कुनै पनि सेवा बन्द गरेको छैन । कर्मचारीलाई जोखिम भत्ता समेत नगरपालिकाले व्यवस्था गरेको छ । ‘सबै लागौँ, सबैले प्रयत्न गरौँ, रोगलाई जितिन्छ’, उहाँले भन्नुभयो ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !