१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

केपी ओलीलाई प्रधानमन्त्री बनाएर हामी रैती बन्न पर्यो-माधवकुमार नेपाल

प्रकाशित मिति :  २४ बैशाख २०७८, शुक्रबार ०२:०२


काठमाडौं । माधवकुमार नेपालले आफ्नो कब्जामा रहेका एमालेका सांसद्हरुले कांग्रेसका शेरबहादुर देउवालाइ प्रधानमन्त्री बनाउन निशर्त सहयोग गर्न नसक्ने बताउनुभएको छ ।

 

उहाँले आज साँझ प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवालाई भेटेर आगामी रणनीति बारे छलफल गर्नुभएको हो । बुढानिलकण्ठ स्थित निवासमा पुगेर नेता नेपालको टोलीले देउवालाई भेटेको हो । माधवले देउवालाई निशर्त सहयोग गर्न नसकिने जानकारी गराउनुभएको हो ।

बुढानिलकण्ठ स्रोतले माधवलाई उदृत गर्दै भन्यो– ‘केपी ओलीलाई प्रधानमन्त्री बनाएर हामी रैती बन्न पर्यो, झन् तपाईंलाई प्रधानमन्त्री बनाएपछि कमैया नै बन्नुपर्ने दिन आउनसक्छ । त्यसकारण तपाईंबाट विश्वसनीय प्रतिवद्धता नआएसम्म हामी आफूलाई स्याक्रिफाइस गर्न सक्दैनौं ।’

माधवको भनाई थियो– ‘कमैया बन्नुभन्दा रैती बन्नु नै ठिक हो । हामीलाई के बनाउने भन्ने तपाईंले निर्णय दिनुपर्छ ।’

शेरबहादुर देउवालाई माओवादी केन्द्रले भावी प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरेको छ । कांग्रेसले पनि देउवाको नेतृत्वमा सरकार बनाउने निर्णय केही साता अगाडि गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत माग्न बुधबार देउवालाई उहाँकै निवासमा पुगेर भेट्नुभएको थियो । भोलिपल्टै माधवले देउवालाई भेट्नुभएको हो ।

देउवा निकट स्रोतले बताए अनुसार माधवले आफ्नो कब्जामा रहेका दुई दर्जनभन्दा धेरै एमाले सांसद्हरुले के गर्ने भन्ने निर्णय देउवाकै हातमा रहेको जानकारी गराउनुभएको छ ।

देउवालाई प्रधानमन्त्री बनाउन क्रस भोटिङ गर्न, अनुपस्थित हुन र सांसद् पदबाट राजीनामा दिन पनि आफ्नो गुट तयार रहेको जानकारी दिँदै माधवले त्यसपछि के गर्ने भन्ने रोडम्याप देउवासँग माग्नुभएको थियो । विश्वसनीय रोडम्याप नभई आफ्नो गुटले कुनै निर्णय नगर्ने जानकारी माधवले दिनुभएको छ ।

देउवाले विश्वसनीय प्रतिवद्धता नदिएमा आफ्नो गुटले केपी ओलीलाई विश्वासको मत दिने माधवले जानकारी गराउनुभएको छ । विश्वासको मत दिएर पनि ओली सरकारलाई आफूले निरन्तर समस्यामा पारिरहने माधवको भनाई रहेको छ । देउवा अहिले प्रधानमन्त्री बन्न सक्नुभएन भने भविष्यमा पनि बन्न नसक्ने दावी माधवले गर्नुभएको स्रोतले बतायो ।

देउवालाई माधवले आफ्नो गुटलाई कमजोर नआँक्न चेतावनी दिँदै सांसद् संख्याको अनुपातमै कार्यकर्ता पंक्ति पनि आफ्नो साथमा रहेको बताउनुभएको छ ।

नेता नेपालले आज बिहान ६ बजे माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादव सँग छलफल गर्नुभएको छ । बिहानै उहाँहरु ललितपुरको पुल्चोक स्थित एक होटलमा पुग्नुभएको थियो ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !