१७ बैशाख २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

संक्रमितलाई अस्पतालसम्म निःशुल्क ल्याउने अभियान सुरु

प्रकाशित मिति :  २३ बैशाख २०७८, बिहीबार ०६:१२


चितवन । कोरोना भाइरसको पहिलो लहरमा अस्थायी अस्पताल र व्यवस्थित आइसोलेसन सेन्टर सञ्चालन गरेको भरतपुर महानगरपालिकाले यस पटक संक्रमितलाई अस्पतालसम्म निःशुल्क ल्याउने अभियान सुरु गरेको छ । यससँगै महानगरले दुई स्थानमा आइसोलेशन तयार गर्दैछ ।

महानगर प्रमुख रेनु दाहालले दुईवटा एम्बुलेन्स सङ्क्रमितलाई अस्पताल ल्याउनका लागि तयारी अवस्थामा राखिएको बताउनुभयो । शहरी क्षेत्रकालाई भन्दा ग्रामीण क्षेत्रका सङ्क्रमितलाई अस्पतालसम्म आउन कठिन हुने भएकाले एम्बुलेन्सको व्यवस्था गरिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘महानगरभित्रै कोरोना उपचारका लागि तीन ठूला अस्पताल छन् । ती अस्पतालसम्म ल्याउने व्यवस्था महानगरले गर्छ ।’ सामान्य अवस्थाका संक्रमित घरमै बसेको र जटिललाई अस्पतालमै राख्नुपर्ने भएकाले यसको व्यवस्थापनमा महानगर जुटेको उहाँको भनाइ छ ।

प्राथमिक स्वास्थ्य केन्द्र शिवनगर र स्वास्थ्य चौकी शारदानगरमा आइसोलेशन कक्ष तयार गरिने पनि उहाँले जानकारी दिनुभयो । यी दुई ठाउँमा कम्तिमा ५० शय्याको आइसोलेशन कक्ष निर्माण गर्न सकिने छ । कोरोनाको उपचार गर्न तोकिएका अस्पतालहरुको शय्या भरिएमा आइसोलेशन कक्षलाई सञ्चालनमा ल्याइने उहाँको भनाइ छ ।

ती आइसोलेशन अक्सिजनसहितको सुविधा सम्पन्न हुने छन् । कोभिड–१९ को रोकथाम र उपचारका लागि महानगर प्रमुखले आफ्नै नेतृत्वमा समिति गठन गरी २९ वटै वडामा वडाध्यक्षको संयोजकत्वमा सर्वपक्षीय समिति गठन गर्नुभएको छ । उहाँले  कोरोनाका लक्षण देखिएकालाई स्वास्थ्यकर्मीको सम्पर्कमा राखिएको र आवश्यक परेका बिरामीलाई अस्पतालसम्म ल्याउने व्यवस्था गरिएको बताउनुभयो ।

स्वास्थ्य विज्ञ, स्वास्थ्य संस्था प्रमुख र स्थानीय प्रशासनसँग जोखिम न्यूनीकरण र प्रभावकारी उपचारका लागि समन्यव गरी महानगर अगाडि बढेको बताउँदै उहाँले हरेक टोलमा माइकिङमार्फत सचेतना कार्यक्रम गरिएको जानकारी दिनुभयो ।

भरतपुर महानगर उपप्रमुख पार्वती शाहले स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञालाई सफल पार्न समन्वय गरिएको बताउनुभयो । उहाँले भन्नुभयो ‘संङ्क्रमितहरूलाई स्वास्थ्यसम्बन्धी परामर्श प्रदान गरिएको छ ।’

भरतपुर केन्द्रीय अस्पताल, मेडिकल कलेजहरू, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल तथा महानगरभित्र रहेका सम्पूर्ण स्वास्थ्य संस्थासँग समन्वय गरी सङ्क्रमितहरूको उपचारका लागि प्रभावकारी ढंगले अगाडि बढेको उहाँले जानकारी दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाले महानगर माहतहतका सम्पूर्ण स्वास्थ्य केन्द्रहरू नियमित सञ्चालन गरी स्वास्थ्यकर्मीहरूलाई कोभिड रोग नियन्त्रण, व्यवस्थापन तथा उपचारका लागि परिचालन गरिएको बताउनुभयो ।

जिल्लास्थित अन्य कार्यालय तथा संघ संस्थाहरूसँगको समन्वयमा कोभिड रोकथाम तथा उपचारका लागि समन्वय र सहजीकरण भइरहेको महानगरको भनाइ छ । जनप्रतिनिधि, स्वास्थ्यकर्मी, वडास्थित सर्वपक्षीय समिति र टोल विकास समितिलाई समेत सक्रिय बनाई कोभिडका बिरामीहरूको पहिचान व्यवस्थापन र उपचारलाई सहज बनाउने कार्य भइरहेको महानगरले जनाएको छ । महानगरवासीको स्वास्थ्य सुरक्षालाई विशेष महत्व दिएर आवश्यकताअनुसार थप कामहरू गर्दै जाने योजनाका साथ भरतपुर महानगर अगाडि बढिरहेको महानगर प्रमुख दाहालको भनाइ छ ।

गत वर्ष भरतपुर महानगरपालिकाले वागेश्वरीमा सञ्चालन गरेको आइसोलेसनबाट ५०० जना सङ्क्रमितले सेवा लिएका थिए । महानगरपालिकाले अस्थायी अस्पताल स्थापना गरी भरतपुर अस्पताललाई हस्तान्तरण गरेको थियो ।

–रासस



प्रतिक्रिया दिनुहोस !