१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेपालका ४१ जिल्लामा निषेधाज्ञा, हेर्नुहाेस् सूची

प्रकाशित मिति :  २० बैशाख २०७८, सोमबार ०६:०५


काठमाडौं । कोभिड–१९ संक्रमणदर बढ्दै गएपछि देशका विभिन्न जिल्लामा निषेधाज्ञा लागू गरिएको छ ।

निषेधाज्ञा लागू भएका जिल्लामा थप कडाइ गरिएको छ । सरकारले संक्रमणको अवस्था हेरेर निषेधको आदेश जारी गर्न सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएसँगै विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिएको हो ।

वैशाख १३ गते बसेको मन्त्रिपरिषद् बैठकले संक्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २ सय र काठमाडौं उपत्यका तथा तराईमा ५ सय सक्रिय संक्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको थियो । सोही अनुसार कोभिडबाट अति प्रभावित जिल्लाहरुमा स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेको हो ।

काठमाडौं उपत्यकासहित ४१ जिल्लामा निषेधाज्ञा जारी भएको छ । गृह मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार आजसम्म ३० वटा जिल्लामा पूर्ण र ११ वटा जिल्लामा आशिंक निषेधाज्ञा लागू भएको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा वैशाख १६ देखि निषेधाज्ञा लागू भइरहेको छ । सो निषेधाज्ञा वैशाख मसान्तसम्म जारी रहनेछ ।

बाँके, सुर्खेत, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन र रूपन्देहीमा निषेधाज्ञा जारी छ । कास्कीमा सवारीमा जोरबिजोर प्रणाली लागू गरिएको छ । बझाङ र बैतडीमा आज बिहानैदेखि निषेधाज्ञा लागू भएको छ ।

बर्दियामा आजदेखि वैशाख ३१ गतेसम्म पूर्ण रुपमा निषेधाज्ञा लागू भएको छ । यसअघि बर्दियाका केही क्षेत्रमा मात्र निषेधाज्ञा लगाइएको थियो । झापा र उदयपुरमा आइतबार रातिदेखि निषेधाज्ञा जारी भएको छ । दुबै जिल्लामा वैशाख २६ गतेसम्म निषेधाज्ञा लागू हुनेछ । झापामा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर जोर बिजोर प्रणालीमा सवारी साधन चलाउन पाइनेछ ।

अर्घाखाँचीमा आज रातिदेखि वैशाख ३१ सम्म निषेधाज्ञा लागू हुँदैछ । सल्यान, सुनसरी, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा, गुल्मी, प्यूठान र दैलेखमा पूर्ण रूपमा निषेधाज्ञा लागू गरिएको गृह मन्त्रालयले जनाएको छ ।

कपिलवस्तु, नुवाकोट र धनुषामा भोलि बिहानदेखि निषेधाज्ञा लागू हुने छ । दैलेखमा भोलि रातिदेखि निषेधाज्ञा लागू हुने छ ।

बाग्लुङ, दार्चुला, मोरङ, काभ्रेपलाञ्चोक, गोरखा, बाजुरा, मकवानपुर, कालीकोट, स्याङ्जा, रामेछाप र ताप्लेजुङमा काभिड प्रभावित ठाउँ तोकेर आंशिक निषेधाज्ञा लगाइएको गृह मन्त्रालयले जनाएको छ ।

नेपालमा कोभिड संक्रमण तीब्र गतिमा फैलिएको छ । संक्रमितको संख्यामा दिनहुँ नयाँ रेकर्ड बन्न थालेको छ । संक्रमणदर र मृत्युदर पनि बढ्दै गएको छ । सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रुपमा पालना गर्न सरकारले पटक पटक आग्रह गर्दै आइरहेको छ । निषेधाज्ञा लागू भएका जिल्लामा सरकारले थप कडाइ गरेको छ ।

हेर्नुस् सूची:

 


0
Shares

प्रतिक्रिया दिनुहोस !