१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

लुम्बिनीमा राजनीति जटिल, षडयन्त्रमूलक घटना

प्रकाशित मिति :  १९ बैशाख २०७८, आईतवार ०९:१९


काठमाडौं । नेकपा एमालेकी सांसद् विमला वली माओवादी बनेपछि लुम्बिनी प्रदेशको राजनीति जटिल बनेको छ ।

मुख्यमन्त्री शंकर पोखरेलले आज राजीनामा दिएर नयाँ राजनीतिक कोर्स थाल्नुभएको थियो । उहाँलाई नै मुख्यमन्त्री बनाउने निर्णय एमालेले गर्नासाथ एउटा षडयन्त्रमूलक घटना भयो । विमला वली वेपत्ता बन्नुभयो ।

एमालेकी सांसद् बिमला वेपत्ता बन्नुभएपछि व्यापक खोजी सुरु भयो । उहाँको फोन स्वीच अफ थियो । केही घन्टापछि उहाँको विज्ञप्ति आयो– माओवादी प्रवेश गरेको भनेर । उहाँले माओवादी संसदीय दल प्रवेश गर्नलाई निवेदन समेत दिनुभएको छ ।

माओवादी प्रवेश गरेको अवस्थामा बिमलाको संसद् सदस्यता रहने छैन । उहाँको पद रिक्त हुन्छ । त्यसपछि प्रदेश संसद् ८० सदस्यीय हुन्छ । यो अवस्थामा प्रदेशमा कुनै पनि दलको बहुमत रहने छैन ।

आज बिहानसम्म प्रदेश संसद ८१ सदस्यीय थियो । बिमलाको सांसद् पद खारेज भएपछि पनि बहुमतका लागि ४१ सांसद् नै चाहिन्छ । एमालेसँग बहुमत नभएको र विपक्षमा पनि ४१ नभएकाले लुम्बिनीमा कसैको बहुमत नहुने अवस्था देखिएको हो ।

लुम्बिनीमा कसैको बहुमत नभएपछि राजनीतिक खेल चाहिँ काठमाडौंमा चर्किएको छ । स्रोत अनुसार लुम्बिनी प्रदेशमा रिक्त रहेको आफ्ना चारजना सांसद्को ठाउँमा जनता समाजवादी पार्टीले दुईजनालाई मनोनीत गर्दैछ । समानुपातिकबाट निर्वाचित दुईजना रिक्त भएकाले सो ठाउँमा दुईजनालाई मनोनयन गर्न लागिएको हो ।

जसपाको महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव पक्ष दुवैले बेग्लाबेग्लै नाम निर्वाचन आयोगमा पठाउन लागेका हुन् । यो लडाईमा महन्थ पक्षले जित्यो भने शंकर पोखरेलले सजिलै नयाँ सरकार बनाउन सक्नुहुन्छ । उपेन्द्र पक्षले जित्यो भने नयाँ सरकार बनाउन निकै सकस हुने बताइएको छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !