१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलद्बारा राजिनामा

प्रकाशित मिति :  १९ बैशाख २०७८, आईतवार ०४:४०


काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिनुभएको छ ।

मुख्यमन्त्री पोखरेलले आइतबार बिहान लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव समक्ष राजीनामा पेस गर्नुभएको हो । उहाँको राजीनामा स्वीकृत भइसकेको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । प्रदेशमा नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न भन्दै मुख्यमन्त्री पोखरेलले राजीनामा दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।

‘पहिला प्रदेश सरकार गठन हुँदाको कानुनी परिस्थिति र अहिलेको कानुनी परिस्थिति फरक छ, नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न मुख्यमन्त्रीले राजीनामा दिनुभएको हो’– एमालेका एक प्रदेश सभा सदस्यको भनाइ छ । ती प्रदेश सभा सदस्यका अनुसार अब लुम्बिनीमा पुनः एमालेको एकल बहुमतको सरकार बन्नेछ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीका केही सांसद्ले वैशाख ६ गते मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ । सो अविश्वास प्रस्तावमाथि छलफल गर्न आज प्रदेश सभाको विशेष अधिवेशनको पहिलो बैठक बस्ने तय थियो । त्यसअघि नै मुख्यमन्त्रीले राजीनामा दिनुभएको हो । राजीनामा दिएलगत्तै उहाँले संसदीय दलको बैठक बोलाउनुभएको छ । बैठक अहिले जारी रहेको ती प्रदेश सभा सदस्यले बताए ।

लुम्बिनी प्रदेश सभामा कुल ८७ सांसद् छन् । तीमध्ये हाल ८१ सांसद् मात्र छन् । प्रदेश सरकारमा सहभागी भएका जसपाका चार सांसद्लाई उपेन्द्र यादव गुटले गैरकानुनी रुपमा पदमुक्त गर्दा चार सांसद्को पद हाललाई गुमेको छ । त्यस्तै माओवादीका दुई सांसद् पनि कारबाहीमा परिसकेका छन् ।

प्रदेश सभा अब एमालेका ४१, कांग्रेसका १९, माओवादीका १८, जसपाका दुई र जनमोर्चाका एक जना सांसद् छन् । अविश्वास प्रस्ताव फेल गर्न ४१ सांसद् चाहिन्छ । माधव गुटका सांसद्ले धोका नदिए एमाले बहुमतमै छ । माधव गुटका एक सांसद् मुख्यमन्त्रीकै पक्षमा हुनुहुन्छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !