१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

काेभड नियन्त्रणकालागि सरकारले उपत्यकामा एक हजार शय्या थप्‍ने

प्रकाशित मिति :  १९ बैशाख २०७८, आईतवार ०४:३१


काठमाडौं । सरकारले कोभिड–१९ महामारीविरुद्ध जनताको साथमा रहेको प्रष्ट पारेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले भिडियो सन्देश जारी गर्दै नागरिकको स्वास्थ्यप्रति सरकार गम्भीर रहेको बताउनुभएको हो । बाहिर प्रचार गरेजस्तो संक्रमितको उपचारमा सरकारले हातखुट्टा नछाडेको उहाँको भनाइ छ ।

‘सरकार यहाँहरुको साथमा छ, बाहिर प्रचार भएजस्तो सरकारले हातखुट्टा छोडेको छैन, सरकार जिम्मेवारी साथ कर्तव्य पालन गर्दै अगाडि बढेको छ’– शनिबार भिडियो सन्देश जारी गर्दै उहाँले भन्नुभयो ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा बेड अभाव हुन सक्ने बताएको थियो । तर त्यसलाई बेड अभाव नै भयो भन्ने शैलीमा केही मिडियाले प्रचार गरेका थिए । मन्त्री त्रिपाठीले  सोही विषयमा प्रष्ट पार्नुभएको हो ।

संक्रमितको उपचारको जिम्मा सरकारले लिएको स्मरण गराउँदै मन्त्री त्रिपाठीले  कोभिड संक्रमितको उपचारका लागि सोमबारदेखि १ हजार शय्या थप गर्न लागिएको जानकारी दिनुभयो । अक्सिजन र कोभिड भ्याक्सिन लगायत विश्वमा उपलब्ध आवश्यक औषधिको जोहो गर्न सरकार लागिरहेको उहाँले प्रष्ट पार्नुभयो ।

कोभिड उपचारका लागि आवश्यक पर्ने औषधिहरु दुई–तीन दिनमै ल्याइने पनि उहाँले जानकारी दिनुभयो । ‘सरकार अक्सिजन जोहो गर्नेदेखि लिएर संक्रमितको उपचार गर्न दत्तचित्त भएर लागेको छ,संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रयोग गरिने औषधि दुई–तीन दिनभित्र नेपालमा आपूर्ति गरिनेछ’– उहाँले भन्नुभयो ।

भारतमा संकट गहिरिँदा अक्सिजन आपूर्तिमा समस्या भएपनि आतंकित हुनपर्ने अवस्था नरहेको पनि उहाँले प्रष्ट पार्नुभयो । दोस्रो लहरको संक्रमण अलि गम्भीर, जटिल र आक्रमक भएपनि आतंकित हुनुपर्ने अवस्था नरहेको उहाँले बताउनुभयो । संक्रमितको व्यवस्थापनमा कहिँकतै त्रुटि भएको भए मन्त्रीको हिसाबले नैतिक जिम्मेवारी आफूले लिने उहाँले बताउनुभयो ।

सरकार आफ्नो प्रतिबद्धता पूरा गर्न तयार रहेको भन्दै उहाँले जनताको जीवन जोगाउन हरप्रयास गरिरहेको बताउनुभयो । जीवनकी अर्थतन्त्र यसमा सरकारले जीवन रोजेको उहाँले बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जीवनरक्षा पहिलो प्राथमिकता भनेर काम गरिरहनुभएको पनि उहाँले प्रष्ट पार्नुभयो ।

अहिले निषेधाज्ञा लगाइएका जिल्लामा कष्ट भएपनि महामारी रोकथाममा लागि चालिएको कदमका रुपमा बुझ्न उहाँले आग्रह गर्नुभयो । ‘संक्रमण दर घटाउन यसले मद्दत पुर्‍याउने छ, महामारीका लागि रोकथाम महत्वपूर्ण विषय हो, उपचार दोस्रो हो त्यसैले रोकथामका लागि निषेधाज्ञा गरिएको हो’– उहाँको भनाइ छ ।

सरकार,स्वास्थ्यकर्मी र सरकारका सबै संयन्त्र जनताको साथमा रहेका भन्दै उहाँले आवश्यक परे तत्काल सम्पर्क गर्न आग्रह गर्नुभयो । निषेधाज्ञा पालना गरेर संक्रमण रोकथाम र नियन्त्रणका लागि सहयोग गर्न उहाँले अपिल गर्नुभयो । सरकारले तोकेका स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्न पनि उहाँले सबैलाई अपिल गर्नुभयो ।

हेर्नुस् भिडियाे:

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !