१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

निषेधाज्ञा थप कडाइ गर्ने तयारी

प्रकाशित मिति :  १८ बैशाख २०७८, शनिबार ०४:२०


काठमाडौं । कोभिड–१९ संक्रमण डरलाग्दो गरी फैलिएपछि देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी भइरहेको छ  ।

सरकारले संक्रमणको अवस्था हेरेर निषेधको आदेश जारी गर्न सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएसँगै विभिन्न जिल्लामा जारी गरिएको हो । वैशाख १३ गते बसेको मन्त्रिपरिषद् बैठकले संक्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २ सय र काठमाडौं उपत्यका तथा तराईमा ५ सय सक्रिय संक्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्नसक्ने अधिकार दिएको छ ।

शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले लकडाउन जारी भएका जिल्लामा अझ कडाइ गर्ने निर्णय गरिसकेको छ ।

शुक्रबारसम्म २३ वटा जिल्लामा निषेधाज्ञा जारी भएको गृह मन्त्रालयले जनाएको छ । तीमध्ये चार जिल्लामा आंशिक र बाँकी १९ जिल्लामा पूर्ण रुपमा निषेधाज्ञा जारी छ ।

बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, कञ्चनपुर, दाङ, पाल्पा, चितवन, रुपन्देही र सुनसरीमा आदेश कार्यान्वयनमा छ । कालीकोट, बाग्लुङ, बर्दिया र दार्चुलामा आंशिक आदेश जारी भएको छ ।

मन्त्रालयका अनुसार जाजरकोटमा वैशाख १८ गते रातिदेखि निषेधाज्ञा लागू हुनेछ । सल्यान र डडेलधुरामा १९ गते बिहान ६ बजेदेखि निषेधाज्ञा लागू हुँदैछ । झापा र रुकुम पश्चिममा पनि १९ गतेदेखि  निषेधाज्ञा लागू हुँदैछ । गुल्मी र मोरङमा निषेधाज्ञा जारी गरिए पनि मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छैन । गुल्मीमा आज रातिदेखि निषेधाज्ञा लागू हुँदैछ ।

निषेधाज्ञा जारी भएका जिल्ला तथा ठाउँमा अत्यावश्यकबाहेका सबै सेवा बन्द गरिएको छ । निषेधाज्ञा अवधिमा सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम लगायत सञ्चालन गर्न पाइने छैन । तर कास्की, सुनसरी र झापामा सवारी साधनलाई जोरबिजोर प्रणालीमा सञ्चालन गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २२ जिल्लालाई कोभिडबाट अति प्रभावित जिल्लाको सूचीमा राखेको छ । ती जिल्लामा स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण फैलिएको मन्त्रालयले जनाएको छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !