१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बाँके एकैदिन ११ संक्रमितकाे ज्यान गयाे

प्रकाशित मिति :  १७ बैशाख २०७८, शुक्रबार ०४:५३


.

राँझा । बाँकेका अस्पतालमा भर्ना भएका ११ जना कोरोना सङ्क्रमितको बिहीबार एकै दिन उपचारको क्रममा ज्यान गएकाे । ज्यान जानेमा बाँकेका आठ, कैलालीका दुई र बर्दियाका एक जना रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका काेभिड स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।

ज्यान गुमाउनेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ निवासी ६० वर्षीय पुरुष, वडा नं ९ निवासी ४२ वर्षीय पुरुष, वडा नं ५ निवासी ५५ वर्षीय पुरुष, वडा नं ८ निवासी ३३ वर्षीय पुरुष, वडा नं १७ निवासी ६८ वर्षीय पुरुष, कोहलपुर नगरपालिका–११ निवासी ४३ वर्षीया महिला, वडा नं १३ निवासी ५० वर्षीय पुरुष, खजुरा गाउँपालिका–२ निवासी ६७ वर्षीया महिला रहेकाे वलीले बताउनुभयाे ।

यसैगरी बाँकेमा उपचारका लागि आउनुभएका बढैयाताल गाउँपालिका–८ बर्दिया निवासी ३२ वर्षीय पुरुष, लम्कीचुहा नगरपालिका वडा नं १ कैलाली निवासी ४३ वर्षीय पुरुष र टीकापुर नगरपालिका कैलाली निवासी ५१ वर्षीय महिलाको पनि ज्यान गएकाे स्रोत व्यक्ति वलीले बताउनुभयो ।

यससँगै बाँकेमा काेभिडबाट ज्यान गुमाउनेकाे सङ्ख्या एक सय १० पुगेको छ भने बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा उपचारकै क्रममा हालसम्म एक सय ११ जनाको ज्यान गएकाे छ ।

सीमामा अवैध आवागमन रोक्न सुरक्षा सक्रियता

बाँकेमा ग्रामीण नाकाबाट हुने अवैध आवागमन रोक्न प्रहरी, प्रशासनले सुरक्षा सक्रियता देखाएको छ । कोरोना महामारी संक्रमणको जोखिमलाई मध्यनजर गर्दै बाँकेको नेपालगञ्जस्थित नेपाल–भारत मुख्यनाका जमुनाहमा आवतजावतमा कडाइ गरेपछि ग्रामीण नाकाबाट हुने गरेको आवागमन रोक्न सुरक्षाकर्मीलाई निर्देशन गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो ।

उहाँले भारतमा कोरोना संक्रमण अनियन्त्रित भएकाले त्यसको जोखिम कम गर्न भारत आवागमनमा रोक लगाइएको बताउनुभयो । मुख्य नाकाबाहेक ग्रामीण क्षेत्रका खुला नाकाबाट समेत आवागमन हुन नदिन सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी बलका बोर्डर आउट पोष्ट र नेपाल प्रहरीका चौकीमा कार्यरत सुरक्षाकर्मीलाई फिल्डमै पुगेर निर्देशन दिएको उहाँको भनाइ छ ।

उहाँका अनुसार बिहीबार मात्रै जिल्लास्थित सुरक्षा अधिकारीको टोलीले बाँकेको जानकी गाउँपालिकामा पर्ने नेपाल–भारत बढैया सीमानाकाको अवलोकन गरेको छ । अवलोकनका क्रममा सीमानाकामा कार्यरत सुरक्षाकर्मीलाई निर्देशन दिनुका साथै कोरोना संक्रमण रोकथामका सन्दर्भमा भारतीय सुरक्षा बलका अधिकृतसँग छलफलसमेत भएको छ ।

बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले खुला सिमानाका कारण भारत–नेपाल हुनसक्ने अवैध आवागमनलाई रोक्न हरसम्भव प्रयास भइरहेको बताउनुभयो । खासगरी राप्तीपारिको नरैनापुर गाउँपालिकाअन्तर्गत रहेका खुला सीमानाका र जानकी गाउँपालिकाको साइगाउँ नाकामा हुनसक्ने आवागमन रोक्न त्यहाँ खटिएका सुरक्षाकर्मीलाई परिचालन गरिएको उहाँको भनाइ छ ।

कोरोना संक्रमण र ज्यान गुमाउनेकाे संख्या दैनिकरूपमा बढ्न थालेसँगै बाँकेको जमुनाह सीमानाकासँगै  ग्रामीण क्षेत्रमा रहेका भित्री नाकामा समेत आवतजावतमा कडाइ गरिएको छ । बाँकेको ६५ किलोमिटर क्षेत्रफल भारतसँग सीमा जोडिएको छ ।

सशस्त्र प्रहरी बलले सीमानाकामा गरेको कडाइ पछि जमुनाहनाका सुनसान बनेको छ । अनावश्यकरूपमा गरिने आवतजावतलाई पूर्णरूपमा बन्देज गरिएको छ । नेपालगञ्जस्थित मूलनाका जमुनाहबाट अहिले अतिआवश्यक औषधि उपचारबाहेक भारत जान रोक लगाइएको छ ।

जमुनाहनाकासहित भित्री बाटोहरुमा समेत सशस्त्र प्रहरीले ब्यारिगेट निर्माण गरेर आवतजावतमा कडाइ गरेको सशस्त्र प्रहरी बोर्डर अफ पोष्ट जमुनहाका सशस्त्र प्रहरी निरीक्षक जीबलाल बुढाले बताउनुभयो ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !