१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

काेभिड संक्रमणबाट सहकारी संघ अध्यक्षको ज्यान गयाे

प्रकाशित मिति :  १६ बैशाख २०७८, बिहीबार ०६:२२


खोटाङ । जिल्ला सहकारी संघ खोटाङका अध्यक्ष अनिल जोशीको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

सहकारीकै कामको सिलसिलामा पोखरा पुग्नुभएका अध्यक्ष जोशीमा कोरोना संक्रमण देखिएपछि पोखरास्थित आम्दा अस्पतालमा उपचार गराउँदा गराउँदै गए राति ज्यान गएको हो । मृतक जोशीको शव पोखरास्थित नेपाली सेनाको शव व्यवस्थापन टोलीले आजनै व्यवस्थापन गर्ने तयारी गरेको जनाइएको छ । विराटनगरबाट गत चैत–२९ गते पोखरा जोशीमा यहि वैशाख–५ गते कोरोना संक्रमण पुष्टि भएपछि वैशाख–६ गते अस्पताल भर्ना गरिएको थियो ।

चैत–२५ दिक्तेलबाट विराटनगर हुँदै पोखरा पुग्नुभएका जोशीमा विराटनगर हुँदा सामान्य रुघाखोकीको सङ्क्रमण देखिएको पारिवारिक स्रोतले जनाएको छ । पारिवारिक स्रोतका अनुसार रुघाखोकीले च्याप्दै गएपछि पोखरामा स्वाब परीक्षण गर्दा जोशीलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो । सहकारी अभियान्ता अध्यक्ष अनिलको ४४ वर्षको उमेरमै कोरोना सङ्क्रमणबाट निधन भएपछि परिवार शोकमा डुबेको छ । दुई श्रीमती र एक छोराका बुबा अनिल लामो समयदेखि सहकारी संस्थामै क्रियाशील हुनुहुन्थ्यो ।

पोखरस्थित प्राइम सहकारी संस्थाका संस्थापक अध्यक्षसमेत रहनुभएका जोशी खोटाङमा संचालित लालुपाते सहकारी संस्थाका अध्यक्ष एवम् संचालक हुनुहुन्थ्यो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारका बुबा हरि जोशी तथा आमा रमा जोशीका तीन छोरामध्ये अनिल जेठा छोरा हुनुहुन्छ । दिक्तेल बजारका स्थानीय बासिन्दाको कोरोना संक्रमणबाट ज्यान गएपछि जिल्लामा उच्च स्वास्थ्य सुरक्षा सर्तकता अपनाइएको छ ।

यसैबीच, कोभिड–१९ को दोस्रो चरणको महामारीलाई मध्यनजर गर्दै खोटाङको त्रिधार्मिकधाम हलेसी मन्दिरसहित जिल्ला विभिन्न ठाउँमा लाग्ने हाटबजार १५ दिन बन्द गर्ने निर्णय गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) खोटाङको आकस्मिक बैठकले दैनिकजसो दर्शनार्थीको भिड लाग्ने त्रिधार्मिकधाम हलेसी मन्दिरसहित जिल्लाका विभिन्न ठाउँमा लाग्ने हाटबजार यहि वैशाख मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्ने हलेसीमा उपस्थित हुने दर्शनार्थी एवम् तीर्थयात्रीको भिडले एक अर्कामा संक्रमण फैलने खतरा बढेकाले १५ दिन हलेसी मन्दिर बन्द गर्ने निर्णय गरिएको डिसिसिएमसिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताउनुभयो । संयोजक शर्माका अनुसार कोभिड–१९ कै महामारी रोकथाम गर्न विसं ०७७ चैत ८ गतेदेखि ०७७ साल मंसिर १६ गतेसम्म बन्द गरिएको हलेसी मन्दिर बुधबारदेखि पुनः वैशाख मसान्तसम्मका लागि बन्द गरिएको हो ।

राजधानी काठमाडौंलगायत शहरबाट जिल्ला भित्रिने दर बढेसँगै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कोभिड–१९ का संक्रमितलाई लक्षित गर्दै ३२ बेडको आइसोलेशन सेन्टर स्थापना गरेको छ । देशभर कोभिड–१९ को संक्रमण फैलिन थालेसँगै गृह जिल्ला फर्कनेक्रम बढेपछि जिल्लामा पनि फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दिक्तेलको भवनमा आइसोलेशन सेन्टर स्थापना गरेको हो ।

कोभिड–१९ का सक्रिय संक्रमितलाई राखेर उपचार गर्ने व्यवस्थाका लागि आइसोलेशन सेन्टर निर्माण गरिएको नगरपप्रमुख दीपनारायण रिजालले बताउनुभयो । नगरपालिकाले नेपाली सेनाको सहयोगमा २७ पुरुष र पाँच महिला संक्रमित राखेर उपचार गराउन मिल्ने गरी बिनाअक्सिजनको आइसोलेशन सेन्टर निर्माण गरेको छ ।

– रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !