१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

काेभिडबाट भारतमा ज्यान जाने संख्या दुई लाख नाघ्यो

प्रकाशित मिति :  १५ बैशाख २०७८, बुधबार १०:३६


नयाँ दिल्ली । भारतमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेकाे संख्या दुई लाख नाघेको छ ।

गएको २४ घण्टायता तीन हजार दुई सय २९ जनाको काेभिड संक्रमणको कारण ज्यान गएपछि यस प्रकोपबाट ज्यान जानेकाे संख्या दुई लाख एक हजार एक सय ८७ पुगेको यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

एकै दिनमा कोरोनाबाट ठूलो संख्यामा ज्यान गएको यस वर्ष सुरु भएयताकै यो सबै भन्दा धेरै भएको समाचारमा जनाइएको छ । मंगलबार एकै दिनमा तीन लाख ६० हजार नाै सय ६० जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएपछि भारतमा अहिलेसम्ममा एक करोड ७९ लाख ९७ हजारभन्दा बढी व्यक्ति संक्रमित हुन पुगेका बताइएको छ ।

भारतमा हाल २९ लाख ७८ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । भारतमा हालसम्म एक करोड ४८ लाख १७ हजारभन्दा बढी कोरोना मुक्त भएका छन् । भारतमा गत जनवरी १६ देखि कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो सो समयबाट अहिलेसम्म भारतमा १४ करोड ५५ लाख भन्दा बढी व्यक्तिले खोप लगाएका छन् ।

कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्कोतर्फ कोरोनाभाइरस विरुद्धको खोप चलाउने क्रम पनि चलिनै रहेको छ । भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सिन र स्पुट्निक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायले जनाएका छन् । रुसले विकास गरेको स्पुट्निक भी भने गत अप्रिल १२ देखि मात्रै लगाउन थालिएको अधिकारीले जानकारी दिएका छन् ।

भारतको राष्ट्रिय राजधानी दिल्ली सबभन्दा धेरै कोरोना प्रभावित राज्यका रुपमा रहेको छ । यहाँ गत  सोमबार एकैदिनमा २० हजार दुई सय एक जना थप व्यक्ति कोरोना भाइरस संक्रमण देखिएको र तीन सय ८० जनाको ज्यान गएकाे छ ।

दिल्लीमा कोरोना सुरु भएदेखि हालसम्म यसको संक्रमणको कारण १५ हजार भन्दा बढी व्यक्तिको ज्यान गइसकेकाे छ ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !