१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सांसद्लाई विश्वास नगरेर होटलमा लगेर थुन्नु घृणित कार्य हो- राजिव पहारी

प्रकाशित मिति :  १५ बैशाख २०७८, बुधबार ०९:४१


काठमाडौं । अहिले गण्डकी प्रदेश सरकारतिर सबैको ध्यान पुगेको छ । प्रदेश सभा सदस्यलाई एउटा होटेलमा थुनेर राखिएको घटनाले गण्डकीको राजनीति नै तरंगित बनेको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको एमाले सरकार विरुद्ध कांग्रेस, माओवादी र जसपा मिलेर गण्डकी प्रदेश सभामा अविश्वास प्रस्ताव दर्ता गराएका छन् । अविश्वास प्रस्तावमाथि छलफल गर्न वैशाख १३ देखि प्रदेश सभाको विशेष अधिवेशन सुरु भएको छ । सोही दिन अविश्वास प्रस्ताव प्रदेश सभामा टेबुल भयो । सो प्रस्तावमाथि दलका नेताहरुले सोही दिन नै विचार राखेका थिए । सोमबारको बैठक अवरुद्ध भयो । एमालेले प्रदेश सभा सदस्यको कोभिड परीक्षण गरेपछि मात्र बैठक सुचारु गर्नुपर्ने बताएपछि बैठक स्थगित गरेर सांसद्हरुको पीसीआर परीक्षण गरियो ।

विशेष अधिवेशन सुरु भएकै दिन कांग्रेस, माओवादी लगायत दलले आफ्ना सांसद्लाई पोखराको महंगो होटलमा तीन दिनदेखि एउटै ठाउँमा थुनेर राखेका छन् । लुम्बिनी प्रदेशमा जस्तै आफ्ना सांसद् सरकारको पक्षमा लाग्छन् भन्ने डरले ती दलले सांसद्लाई थुनेर राखेका हुन् ।

नेपालको संसदीय इतिहासमा सांसद् किनबेचदेखि होटलमा थुन्नेसम्मका घटना विगतमा बाक्लै भएका थिए । अहिले पुनः कांग्रेस र माओवादीले गण्डकी प्रदेशमा त्यसको पुनरावृत्ति गरेका छन् । यो घटना संसदीय व्यवस्था माथिकै उपहास भएको एमाले नेता एवं गण्डकी प्रदेशका सांसद् राजिव पहारी बताउनुहुन्छ ।

आफ्नै सांसद्को विवेकमाथि विश्वास नगरेर उहाँहरुलाई भेडा बाख्राजस्तो थुनेर राख्नु अलोकतान्त्रिक र घृणित काम भएको उहाँको निष्कर्ष छ । यसै विषयमा केन्द्रित रहेर सांसद् पहारीसँग गरिएको फोन संवादको सम्पादित अंशः

पार्टीको ह्वीप उल्लंघन गर्छन् भनेर प्रतिपक्षीले गण्डकीमा आफ्ना सांसद्लाई होटलमा थुनेको भन्ने कुरा सत्य हो ? 

लोकतन्त्रका कुरा गरेर कहिल्यै नथाक्ने, अग्रगमनको कुरा गरेर नथाक्ने, आफूलाई चर्को क्रान्तिकारी परिवर्तकारी ठान्ने दलले आफ्नै पार्टीका सांसद् यसरी थुन्नु लज्जासपद कुरा हो । जननिर्वाचित सांसद्लाई विश्वास नगरेर अहिले भेडा बाख्रा जसरी एउटा होटलमा लगेर थुनेर राखिएको छ । यो निन्दनीय, अलोकतान्त्रिक र घृणित कार्य हो ।

लुम्बिनीमा जस्तै गण्डकीमा पनि एमालेलाई साथ दिन्छन् भनेर सांसद्हरुलाई थुनिएको हो कि ? तपाईंलाई के लाग्छ  ? 

सांसद्सँग समेत विश्वास गर्न नसक्ने कस्तो पार्टी हो ? उहाँहरुले दिनको १३–१४ लाख रुपैयाँ खर्च गरेर तीन दिनदेखि महँगो होटलमा सांसद्लाई थुनेर राख्नुभएको छ । यो सबै गतिविधि लोकतन्त्रकै उपहास हो ।

सिंगो मुलुक कोभिड महामारीमा छ । चाहे संघ सरकार भन्नुस्, चाहे प्रदेश सरकार भन्नुस्, जनताको जिउ ज्यानको सुरक्षाको निम्ति खटिरहेका बेला उहाँहरुले जुन गण्डकी प्रदेशमा अविश्वास प्रस्ताव ल्याउन खोज्दै हुनुहुन्छ सो आफैमा सत्ता लिप्सा हो ।

पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारसँग उहाँहरु किन असन्तुष्ट हुनुहुन्छ ? 

उहाँहरुले प्रदेश सरकार विरुद्धको अविश्वास प्रस्तावमा कुनै आरोप लगाउन सक्नुभएको छैन । उहाँहरुको प्रस्तावमा यो सरकारले काम गर्न सकेन भन्ने कुरा काहीँ छैन । कोभिड नियन्त्रण गर्न सकेन भन्ने छैन, भ्रष्टाचार गर्…यो भन्ने छैन, विकास निर्माण गर्न सकेन भन्ने छैन । प्रदेश सरकारले केपी ओली नेतृत्वको संघीय सरकारलाई सहयोग गर्यो, त्यसकारण अविश्वास प्रस्ताव ल्याइएको हो भनेर उल्लेख गर्नुभएको छ ।

उहाँहरुले ल्याउनुभएको अविश्वास प्रस्ताव संघ सरकार विरुद्धको हो कि, प्रदेश सरकार विरुद्ध हो भन्ने छुट्याउनै नसकिने स्थिति छ । उहाँहरुले जनताको सार्वभौमसत्ता सम्पन्न प्रतिनिधिहरुलाई थुनेर जुन नाटक गर्नुभएको छ । यसले संसदीय व्यवस्थाको नै अपमान गरेको छ । हिजो शेरबहादुर देउवाको पालामा के के भयो भनेर हामीले जे सुनेका थियौँ, आज फेरि त्यसैको पुनरावृत्ति भएको छ ।

यसले त अहिलेको व्यवस्थाप्रति नै प्रश्न उठायो नि ? 

हो, एकदमै हो । उहाँहरु कुरा लोकतन्त्रको गर्नुहुन्छ, गतिविधि अलोकतान्त्रिक गर्नुहुन्छ । यो अलोकतान्त्रिक, अप्रजातान्त्रिक, अमर्यादित र अरानीतिक भन्दापनि निकृष्ट कार्य हो ।

जनताले चुनेका प्रतिनिधिलाई आफ्नो विवेक प्रयोग गर्न त दिनुपर्छ नि । प्रस्तावको पक्ष वा विपक्षमा जाने भन्ने कुरा त उहाँले विवेक पुर्…याउन सकिहाल्नु हुन्छ नि । त्यो उहाँहरुको अधिकार हो ।

आफ्नै सांसद्लाई नै उहाँहरु विश्वास गर्नुहुन्न भने सत्ताको नेतृत्व पाउनुभयो भने जनतालाई विश्वास गरेर कसरी अगाडि बढ्न सक्नु होला ? अनि उहाँहरुबाट भोलि मुलुकको विकास होला, प्रदेशको समृद्धि होला भनेर कसरी आस गर्ने ? उहाँहरुलाई कसरी विश्वास गर्न सकिन्छ ?

भनेपछि उहाँहरुले आफ्नै सांसद्को अपमान गर्नुभयो ?

यो विवेकमाथिको प्रश्न मात्र होइन, उहाँहरुमाथिको घोर अपमान पनि हो । उहाँहरुले सांसद्को रुपमा आफ्नै पार्टीका सांसद्लाई पनि स्वीकार्नु भएन । उहाँहरुले कस्ता मान्छेलाई सांसद् बनाउनुभयो जो माथि नेतृत्वको विश्वास नै छैन् ।

यति धेरै खर्च गरेर सांसद्लाई होटलमा राख्न उहाँहरुको आर्थिक स्रोत के हो जस्तो लाग्छ ? 

उहाँहरुले पोखराको महंगो होटलमा सांसद्लाई राख्नु भएको छ । त्यसको स्रोत के ? आम्दानीको स्रोत के ? यो सबै कुरा त उठ् छ नि । उहाँहरु कतै न कतैबाट परिचालित हुनुहुन्छ । त्यो हुन्थ्यो भने यसरी दैनिक एक सांसद् बराबर २० हजार रुपैयाँ बढी तिर्ने पैसा कहाँबाट आउँछ ?

उहाँहरुको हर्कतले नागरिकलाई व्यवस्थाप्रति नै वितृष्णा बढाउन सहयोग पुगेको छ । संसदीय व्यवस्थाको खिल्ली मात्र होइन अर्थतन्त्रको पनि खिल्ली उडाएको छ । सामान्यतय एक नेपालीले मासिक कमाउन नसक्ने पैसा उहाँहरुले एउटा सांसद्का लागि खर्च गर्नुभएको छ । यस्तो प्रवृत्ति नागरिकमाथिको पनि अपमान हो ।

सरकारमाथिको अविश्वासको प्रस्ताव चाहीँ अब के हुन्छ त ? 

उहाँहरुले सक्नेसम्म साम, दाम, दण्ड, भेद प्रयोग गर्नुभएको छ । तर हामीलाई विश्वास छ, सांसद्हरु विवेकशील हुनुहुन्छ । कसैले थुन्दैमा उहाँहरुको विवेक थुनिँदैन । उहाँहरुले त सक्नेसम्मको सबै टिकडम अपनाउनु भएको छ । तर पनि अविश्वास प्रस्ताव फेल हुन्छ भन्ने मलाई विश्वास छ ।

कोभिड महामारीको बेला पनि प्रदेश सभाको विशेष अधिवेशन चलेको छ, यसमा के भन्नुहुन्छ ? 

उहाँहरुले कति घृणित काम गर्नु भएको छ । प्रदेश प्रमुखले वैशाख ६ मा वैशाख १३ गतेका लागि प्रदेश सभा बैठक आह्वान गरेपछि हामीले पटक पटक एमाले संसदीय दलको तर्फबाट सभामुखको ध्यानाकर्षण गरायौँ । तर कुनै सुनुवाइ गर्नुभएन । त्यसैले हामी हिजो सदन अवरुद्ध गर्न वाध्य भयौँ । त्यसपछि मात्र मंगलबारबाट पीसीआर परीक्षण सुरु गरियो । अब आजबाट सदन सुरु हुन्छ ।

उहाँहरुलाई कसैको स्वास्थ्य प्रति केही मतलव नै छैन । उहाँहरुलाई फगत सत्ता चाहिएको छ । कसरी हुन्छ सत्ता प्राप्ति गर्ने । कसरी हुन्छ अराजकता मच्चाउने । कसरी हुन्छ केपी शर्मा ओलीको समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई असफल गराउने र यो होल सिस्टमलाई नै कसरी कोल्याप्स गर्न सकिन्छ भन्ने मात्र उहाँहरुलाई चिन्ता छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !