१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

हेर्नुहाेस् यि हुन् निषेधाज्ञा जारी भएका जिल्ला

प्रकाशित मिति :  १४ बैशाख २०७८, मंगलवार ११:५२


काठमाडौं । कोभिड–१९ संक्रमण व्यापक रुपमा फैलिन थालेपछि सरकारले कडाइ गर्न थालेको छ ।

संक्रमण फैलँन नदिनका लागि देशका विभिन्न जिल्ला र स्थानीय तहमा लकडाउन तथा निषेधाज्ञा जारी गरिएको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरसहित विभिन्न जिल्लामा निषेधाज्ञा जारी भएको छ ।

उपत्यकाका तीन जिल्लामा वैशाख १६ देखि लागू हुनेगरी निधेधाज्ञा जारी भइसकेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं, भक्तपुर र ललितपुरसहित कोभिडबाट अति प्रभावित जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको थियो । त्यसअघि सोमबार दिउँसो बसेको उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले एक साताका निषेधाज्ञा घोषणा गरेको थियो । तर साँझ बसेको मन्त्रिपरिषद् बैठकले १५ दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

पहाडी क्षेत्रमा २ सय र शहरी क्षेत्रमा ५ सय बढी संक्रमित देखिए निषेधाज्ञा लगाउने अधिकार स्थानीय प्रशासनलाई दिने कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिस पनि मन्त्रिपरिषद् बैठकले पारित गरेको छ । मन्त्रिपरिषद्को निर्णयसँगै स्थानीय प्रशासनले विभिन्न जिल्लामा लकडाउन र निषेधाज्ञा जारी गरेका छन् ।

कैलालीमा वैशाख १६ देखि लागू हुनेगरी लकडाउन घोषणा गरिएको छ । मंगलबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीएमसी) को सिफासिरमा जिल्ला प्रशासन कार्यालय कैलालीले वैशाख १६ देखि लकडाउन गर्ने निर्णय गरेको हो ।

उता दाङमा यही वैशाख १७ गतेदेखि लकडाउन घोषणा गरिएको । मंगलबार बसेको जिल्ला कोभिड–१९ संकट व्यस्थापन केन्द्र (डीसीएमसी) को बैठकले वैशाख १७ देखि २५ गते साँझ ६ बजेसम्मका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।

पर्सामा पनि वैशाख १६ देखि निषेधाज्ञा लागू हुने भएको छ । मंगलबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले बिहीबार बिहान ४ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

बाँकेमा लकडाउन जारी छ । बाग्लुङमा पनि निषेधाज्ञा लगाइएको छ । बर्दियामा वैशाख १३ गते रातिदेखि निषेधाज्ञा जारी भइसकेको छ । सुर्खेतमा आज रातिदेखि निधेषाज्ञा लागू हुँदैछ । कास्कीमा भोलिदेखि निषेधाज्ञा जारी हुँदैछ । रुपन्देहीमा वैशाख १६ देखि १९ गतेसम्म लकडाउन गर्ने घोषणा मंगलबार गरिएको छ ।

केही दिन यता नेपालमा कोरोनाको बाढी आइरहेको छ । सो बाढी रोक्न निषेधाज्ञा लगाइएको हो ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !