१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

पदमुक्त भए कर्णालीमा एमालेलाई धाेका दिने चार सांसद्

प्रकाशित मिति :  १३ बैशाख २०७८, सोमबार १२:०५


काठमाडौं । कर्णालीमा नेकपा एमालेलाई धोका दिने माधव गुटका चार प्रदेश सभा सदस्य पदमुक्त भएका छन् ।

सोमबार बसेको प्रदेश सभाको बैठकमा सभामुख राजबहादुर शाहीले चार जना सांसद्काे पद रिक्त भएको जानकारी गराउनुभएको हाे । पार्टीको ह्विपविपरीत फ्लोर क्रस गरी माओवादी केन्द्रको सरकार जोगाइदिने सल्यानको प्रदेश सभा ‘ख’ बाट निर्वाचित प्रकाश ज्वाला, कालिकोट प्रदेशसभा ‘क’ बाट निर्वाचित कुर्मराज शाही, डोल्पा प्रदेश सभा ‘क’ बाट निर्वाचित नन्दसिंह बुढा र दैलेख क्षेत्र नम्बर १ को ‘ख’ बाट निर्वाचित अमरबहादुर थापा पदमुक्त हुनुभएको हो ।

एमालेबाट निर्वाचित माधव गुटका चार जना सांसद्ले संसदीय इतिहासमा नभएको खेल खेल्नुभएको थियो । कलंकको टीका लगाएपछि एमालेले बाध्य भएर आफ्ना सांसद्लाई पदमुक्त गराएको हो । प्रत्यक्ष निर्वाचित चार जना सांसद् कै राजनीतिमा एमालेले पूर्णविराम लगाइदिएको हो । चारै जना सांसद्ले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादर शाहीको पक्षमा मतदान गरेर पार्टीको ह्विप उल्लंघन गर्नुभएको थियो ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३५ ९१० र कर्णाली प्रदेश सभा नियवामली २०७४ नियम १९० बमोजिम एमाले संसदीय दलले चारै जना सांसद्ले दल त्याग गरेको पत्र प्रदेश सभा सचिवालयलाई पठाएको थियो । चार सांसद्लाई निष्कासन गरेको सूचना सहितको पत्र आइतबार कर्णाली प्रदेश एमाले संसदीय दलले प्रदेश सभामा दर्ता गराएको थियाे । सोही अनुसार नै कर्णाली प्रदेश सभा नियमावली २०७४ को नियम १९१ बमोजिम सभामुखले सांसद्हरु पदमुक्त भएको घोषणा गर्नुभएको हो ।

आफ्नै खुट्टामा बञ्चरो हान्नुभएका थापा प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्री, शाही भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री र बुढा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री हुनुहुन्छ । ज्वालालाई भने अहिलेसम्म माओवादीले कुनै जिम्मेवारी दिएको छैन ।

चार सांसद्हरु पदमुक्त भएसँगै ४० सदस्यीय कर्णाली प्रदेश सभा सांसद्को संख्या ३५ पुगेको छ । माओवादी छोडेर एमालेमा प्रवेश गर्नुभएका धर्मराज रेग्मी यसअघि नै पदमुक्त भइसक्नुभएको छ । कर्णाली प्रदेशमा अब सभामुखसहित एमालेका १६, माओवादीका १२, कांग्रेसका ६ र राप्रपा १ सांसद् छन् ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !