१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

धरहरामा ज्यान गुमाउने परिवारका एक सदस्यलाई रोजगारी दिन्छाैं – प्रम ओली

प्रकाशित मिति :  ११ बैशाख २०७८, शनिबार ०७:२१


काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा उद्‍घाटन गर्न पाउँदा अत्यन्तै खुशी लागेकाे बताउनुभयाे ।

नवनिर्मित धरहराकाे शनिबार उद्‍‍घाटन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयाे – ‘धरहराको उद्घाटन गर्न पाउँदा एकदमै खशी लागेको छ ।’ धरहरा परिसरमा बनिरहेका अन्य संरचना चाँडो सक्न पनि प्रधानमन्त्री ओलीले निर्माण कम्पनीलाई निर्देशन दिनुभयाे ।

राष्टिय पुर्ननिर्माण प्राधिकरण लगायत धरहरा निर्माणको पुर्ननिर्माणमा खटिने सबैलाई उहाँले धन्यवाद दिनुभयो । दिनरात नभनी धरहरा निर्माणमा खटिने सबै पक्षलाई पनि प्रधानमन्त्री ओलीले धन्यवाद दिनुभयो । ‘यो एउटा अत्यन्तै महत्वपूर्ण काम हो, हाम्रो इतिहास हो, हाम्रो गौरव हो, हाम्रो गौरव पटक-पटक भत्कियो, त्यतिबेला संरचना पनि त्यस्तै थिए’- उहाँले भन्नुभयाे । भूकम्पले धरहरा भत्कँदा ज्यान गुमाएकाप्रति उहाँले श्रद्धासुमन अर्पण गर्नुभयो ।

धरहरासँग नेपालको गौरव र काठमाडौंको पहिचान जोडिएको उहाँको भनाइ छ । मै बनाउँछु मेरो धरहरा भन्ने अभियान थालेपनि विभिन्न कारणले सफल हुन नसकेको उहाँले बताउनुभयो । देशभित्र र बाहिर रहेका थुप्रै नेपालीको आर्थिक र भावनात्मक सहयोगका कारण धरहरा ठडिएकाे प्रधानमन्त्री ओलीले बताउनुभयाे ।

नेपालीकाे भावना, गौरव अतित र इतिहाससँग धरहरा जोडिएकाले साेहीअनुसार पुर्ननिर्माण गरिएकाे उहाँले बताउनुभयाे । ‘उस्तै संरचनामा बनाइएको छ, मैले भन्ने गरेको छु इतिहास झल्कने आधुनिकता टल्कने, सोही अनुसार आधुनिक सामग्री र प्रविधि प्रयोग गरेर पुरानै संरचनामा धरहरा बनेकाे छ ।’ यसका लागि आफूले अवधारणा अगाडि सारेको भन्दै उहाँले पुरातत्व लगायतले साे अवधारणालाई प्राथमिकता दिएकाेमा धन्यवाद् दिनुभयाे ।

सुन्दर, आकर्षित र भूकम्प प्रतिरोधी भव्य धरहरा बनाइएको प्रधानमन्त्री ओलीले सुनाउनुभयो । पहिलोको भन्दै करिब २५ मिटर अग्लो धरहरा बनेको उहाँले बताउनुभयो ।
धरहरासँगै आफूहरुले रानीपोखरी, दरबार हाइस्कूल, दशरथ रंगशाला लगायतको पुर्ननिर्माण गरिएको उहाँले बताउनुभयो ।

धरहराकाे २० ‌औं तलामा पुग्दा आइफल टावर चढेजस्तो अनुभव भएकाे उहाँले बताउनुभयाे । प्रधानमन्त्री ओलीले भन्नुभयाे – ‘यहाँभन्दा माथि हावाकाे बेग ठूलाे छ, जतिमाथि चढ्यो उति हावाको बेग चलेको छ, मलाई कता कता आइफल टावर चढेजस्ताे फिल भयाे ।’ तीन वर्षको समय नेपालको इतिहासमा विकास र तीब्र गतिको अवधि बनेको उहाँले बताउनुभयो ।

०७२ काे भूकम्पमा धरहरा ढल्दा ज्यान गुमाएकाका परिवारलाई राेजगारी दिने उद्घाेष प्रधानमन्त्री ओलीले बताउनुभयाे । ‘धरहरा ढल्दा बाँचेकालाई सम्मान गर्छौं, ज्यान गुमाएका परिवारलाई एक परिवार एक रोजगारी उपलब्ध गराइनेछ, यहाँ कामको प्रकृति नमिल्ने सदस्यलाई अर्कै ठाउँमा भए पनि व्यवस्था गर्छौं’ – उहाँले भन्नुभयाे ।

अब धरहरा नढल्ने सुनिश्चितता आफूहरुले गरेको प्रधानमन्त्री ओलीले बताउनुभयो । अहिले कोरोनाले फेरि सताउन थालेकाे उहाँले बताउनुभयाे । गत वर्षपनि कोरोनाकैबीच पुर्नर्निाणका काम अगाडि बढाइएको उहाँले बताउनुभयो ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !