१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

हाम्रै मिडियाले मेरो समाचार छापेनन् – प्रचण्ड

प्रकाशित मिति :  ९ बैशाख २०७८, बिहीबार ०८:०१


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पक्षमा सञ्चार माध्मले समाचार नछापेकोमा असन्तुष्टि जनाउनु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको ७२ औं स्थापना दिवस तथा लेनिन जयन्तीमा अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले भन्नुभयो – ‘मैले बिहानै मुख्य पत्रिकामा हेरेँ, लेनिनबारे लेखेको देखिनँ ।’ आफूहरु पक्षकै पत्रकारले चलाउने अनलाइनमा पनि लेलिन र आफ्नो विज्ञप्तिबारे नलेखिएको बताउँदै उहाँले भन्नुभयो –  ‘हाम्रै साथीले चलाउने अनलाइनमा पनि लेलिनको चर्चा देखिनँ, मैले वक्तव्य निकालेको थिएँ, त्यो वक्तव्यलाई लिएर केही न केही चर्चा भएकै होला भनेको कुनै चर्चा भएको रहेनछ, कुनै न कुनैमा थियो होला, यति ठूलो कम्युनिष्ट पार्टीको चर्चा किन भएन ?’

नेपालमा नामका मात्र धेरै कम्युनिष्ट पार्टी भएका भन्दै उहाँले सकेसम्म नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउने उद्देश्य राखिएको भएपनि त्यो पूरा हुन नसकेको बताउनुभयो । नेपालमा माक्र्सवादको बहस चलाउनुपर्ने बताउँदै प्रचण्डले भन्नुभयो – ‘सबै कम्युनिष्ट क्रान्तिकारीलाई माक्र्सवाद, लेलिनवाद, विचार सिद्धान्तबारे ठूलो बहस चलाउन आवश्यक छ, सबै कम्युनिष्ट आन्दोलनमा लागेका लगायत पार्टी पंक्तिलाई म अपिल गर्छु, आजको विश्व र राष्ट्रिय परिस्थितिलाई चिरेर लैजाने विचार, राजनीतिमा सश्लेषण, विश्लेषण आवश्यक छ ।’ कम्युनिष्ट पार्टी वैचारिक हिसाबले आफै स्खलित भएको भन्दै उहाँले यसबाट पार लगाउन पनि बहस जरुरी रहेको बताउनुभयो ।

ठूलो राजनीतिक परिवर्तन ल्याउन नेपालमा कम्युनिष्टको भूमिका निक्कै ठूलो रहेको प्रचण्डले बताउनुभयो । ‘सामन्तवाद परास्त गर्न, राजतन्त्रलाई परास्त गरेर गणतन्त्र स्थापना गर्न र  नयाँ संविधान बनाउन पनि कम्युनिष्टहरुको भूमिका महत्वपूर्ण रह्यो’– प्रचण्डको भनाइ छ । पछिल्लो चरणमा माओवादी जनयुद्ध र जनआन्दोलनको भूमिका अझ प्रभावकारी भएको प्रचण्डको दाबी छ ।

कम्युनिष्टहरुले राजनीतिक परिवर्तनको नेतृत्व गरेकै कारण नेपाली जनतले माओवादीलाई ०६४ मा अत्यधिक मत दिएर विजय बनाएका बताउनुभयो । जनताले आफूलाई गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीको नेतृत्व गर्ने अवसर दिएका  प्रचण्डले बताउनुभयो । ‘कम्युनिष्टको भूमिकाकै कारण नेपालमा कम्युनिष्ट आन्दोलन लोकप्रिय भएको हो, यो कुरा प्रतिक्रियावादीहरुका लागि सह्य भएको छैन’– प्रचण्डले भन्नुभयो ।

माक्र्सवादको आवश्यकता र औचित्य झन् बढेको उहाँले बताउनुभयो । नेपालमा कम्युनिष्ट गठबन्धन गरेर  नेतृत्व लिने आँट आफूहरुले गरेको बताउँदै उहाँले भन्नुभयो – ‘त्यो महान् काम नै थियो, साम्राज्यवादी, प्रतिक्रियावादी संशोधनवादी, अवसरवादीका लागि सह्य थिएन, तर हामीले जित्यौं, कम्युनिष्टलाई एकताबद्ध गर्न हामी सफल भएकै हो ।’

एमाले र माओवादी एक हुँदा जनतामा उत्साह छाएको र विश्वले चर्चा गरेको भएपनि पार्टीभित्रैबाट विघटन, विचलन, विभाजन र आत्मसर्मपणको खेल भएको प्रचण्डले बताउनुभयो । उहाँले भन्नुभयो – ‘वैदेशिक प्रतिक्रियावादको अगाडि सम्पूर्ण रुपमा आत्मसर्मपण गरेर कम्युनिष्ट आन्दोलनलाई धराशाही पार्ने फेरि कोही एपसिन गुरुबाचौथ, चेउसेस जस्ता मानिस देखा परे, आज स्थापना दिवस मनाउनुको मुख्य उद्देश्य पनि त्यस्ता अवसरवादीलाई परास्त गर्नु हो ।’

अहिले नेपालमा कम्युनिष्ट आन्दोलनभित्र घुसेको, प्रतिक्रियावाद, प्रतिगमन र प्रतिक्रान्ति प्रवृत्तिलाई परास्त गर्न वैचारिक संर्घषलाई उचाइ दिने आँट गुर्नपर्ने प्रचण्डको भनाइ छ । प्रतिक्रियावादीको षड्यन्त्रलाई परास्त गर्न राष्ट्रिय एकता कायम गर्दै राष्ट्रिय स्वाधिनताको आन्दोलनलाई नयाँ उचाइमा उठाउने संकल्प गर्नुपर्ने बताउनुभयो । त्यसका लागि कम्युनिष्ट क्रान्तिकारीलाई वैचारिक, सांगठनिक, संस्कार सबै हिसाबले तयार पार्नुपर्ने उहाँले बताउनुभयो ।

अहिले आफूहरुमा अब के हुन्छ भन्ने प्रश्न उठेको भएपनि आफूहरुका लागि ठूलो अवसर भएको उहाँले बताउनुभयो । ‘प्रतिगमन, अवसवाद, प्रतिक्रान्तिकाविरुद्ध लडेर राष्ट्र, जनता र कम्युनिष्ट आन्दोलनका लागि रक्षा गर्ने राम्रो अवसर प्राप्त छ’– प्रचण्डले भन्नुभयो । माओवादी केन्द्र कमजोर नभएको दाबी पनि प्रचण्डले गर्नुभयो ।

जनताको घर आँगनमा गएर उनीहरुको भावना बुझ्ने कोशिस आफूले गरिरहेको बताउँदै प्रचण्डले भन्नुभयो – ‘उहाँहरुमा हामी पहिलाको जस्तै क्रान्तिकारी भइदिउँ, पहिलाको जस्तै माओवादी भएर आइदिउन, प्रचण्ड पहिलाजस्तै गर्जियोस् भन्ने जनताको चाहाना छ ।’ पार्टीभित्र घुसेका प्रतिक्रियावादीले नेकपा एकता भंग गरेका उहाँले बताउनुभयो । ‘हामी फेरि पनि कम्युनिष्ट आन्दोलनकै एकताको पक्षमा छौं, एकताको झण्डा झुक्न दिने छैनौं’– प्रचण्डले भन्नुभयो ।

त्यसअघि वैचारिक, सांगठनिक सबै हिसाबले आफूहरु बलियो बन्नुपर्ने बताउनुभयो । ‘एकता गरेर गल्ती गरेका थिएनौं, शक्ति सन्तुलन हाम्रो पक्षमा त्यति नभएकाले विभाजन रोक्न त सकेनौं, तर हामी पराजित भएका होइनौं, हामीले गलत प्रवृत्तिका नायक, खलनायकलाई गलत्याएकै हो, उनीहरु पराजित भए’– प्रचण्डले भन्नुभयो । विदेशी शक्तिका आडमा कानुन मिच्ने काम भएको प्रचण्डको आरोप छ ।

तत्काल जनतामा जाने आँट नभएको भन्दै  प्रचण्डले एक पटक जनतामा जाने आँट आफूहरुले गर्नुपर्ने बताउनुभयो । ‘एकपटक जनतामा जाने आँट, मेहनत गर्ने, कम्युनिष्ट आन्दोनलाई एकीकृत गर्ने संकल्प गर्नुपर्नेछ, प्रतिक्रियावादी र अवसरवादीका सबै सपना चकनाचुर पार्नुपर्ने आँट गर्नुपर्नेछ’– प्रचण्डले भन्नुभयो । आफूहरुले नै जित्ने भन्दै उहाँले एकताबद्ध हुनका लागि सबै कम्युनिष्ट पार्टीलाई आव्हान गर्नुभयो ।

उहाँले लेलिनको ‘साम्राज्यवाद र समाजवादी आन्दोलनमा फुट’ भन्ने लेख आफूहरुकै लेखिएजस्तो महशुस हुने भन्दै उहाँले खोजेर पढ्न आग्रह गर्नुभयो । सोभियत संघको एकतामा लेनिनले खेलेको भूमिकाबाट पनि पाठ सिक्नुपर्ने पनि प्रचण्डले बताउनुभयो ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !