१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

‘चिकित्सा शब्दसागर’ विमोचन

प्रकाशित मिति :  ९ बैशाख २०७८, बिहीबार ०४:२५


काठमाडौं । नेपालमा पहिलोपटक चिकित्सासम्बन्धी सम्पूर्ण शब्दको परिभाषा रहेको ‘चिकित्सा शब्दसागर’ विमोचन गरिएको छ ।

डा. विपिन नेपाल, विनयकुमार शर्मा, प्रकाशमणि दाहाल र डा. कमल लम्सालद्वारा लिखित उक्त पुस्तकको बुधबार चिकित्साशास्त्र अध्ययन संस्थानका डीन प्रा डा. दिव्या सिंह, प्रा डा. राजेन्द्र कोजु र डा. मोहनकृष्ण श्रेष्ठले संयुक्तरूपमा विमोचन गर्नुभएको हो ।

कार्यक्रममा प्रा डा. सिंहले चिकित्सा शब्दसागरले चिकित्सा विज्ञानलाई सजिलै बुझ्न सघाउने र नेपाली भाषाका क्षेत्रमा यो नयाँ र महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । काठमाडौं विश्वविद्यालय स्कूल अफ मेडिकल साइन्सेजका डीन प्रा डा. कोजुले धेरै चिकित्सकले अङ्ग्रेजी प्रयोग गर्ने गरेको वर्तमान समयमा चिकित्सा शब्दसागरले त्यसको परिभाषालाई सहज बनाइदिएको उल्लेख गर्नुभयो ।

नेपाल स्वास्थ्य व्यवसायी परिषद्का सदस्य सचिव डा श्रेष्ठले स्वास्थ्य परिषद्मा झण्डै डेढ लाखभन्दा बढी स्वास्थ्यकर्मी दर्ता रहेको अवस्थामा उनीहरुलाई चिकित्सकीय ज्ञान हासिल गर्न उक्त शब्दसागरले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

एक हजार नाै २० पेजको चिकित्सा शब्दसागर आठ वर्ष लगाएर तयार पारिएको लेखक डा. विपिन नेपालले राससलाई जानकारी दिनुभयो । पुस्तकमा चिकित्सा, नर्सिङ र एलाइड हेल्थसँग सम्बन्धित ५० हजारभन्दा बढी शब्द रहेका छन् ।

उक्त शब्दकोष अङ्ग्रेजी–अङ्ग्रेजी–नेपाली भाषामा रहेको छ ।

– रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !