१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कोरोनाबाट हेटौँडा र वीरगञ्जमा दुईकाे ज्यान गयाे

प्रकाशित मिति :  ८ बैशाख २०७८, बुधबार ०७:४७


वाग्मती । मकवानपुर जिल्लाको हेटाैँडामा कोरोना सङ्क्रमणबाट आज एक वृद्धको ज्यान गएको छ । कोरोना पृष्टि भएको हेटौँडा उपमहानगरपालिका–४ स्थित कर्राका ७४ वर्षीय वृद्धको ज्यान गएको हेटौँडा उपमहानगरपालिकाको जनास्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिनुभयोे ।

कोरोना सङ्क्रमित भएपछि  होम आइसोलेशनमा रहेका वृद्धको मृत्यु भएको चौलागाईंले बताउनुभयो । मृतकको शवलाई नेपाली सेनाले व्यवस्थापन गर्ने बताइएको छ । तराईको बारा र पर्सा जिल्लाको सीमासँग जोडिएको र सुरक्षाका मापदण्ड नअपनाउँदा कोरोनाको जोखिम वढेको छ ।

उपचारको क्रममा मृत्यु

वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमित पुरुषको आज बिहान ज्यान गएको छ । सर्लाहीको मलङ्गवा–३ निवासी ४२ वर्षीय पुरुषको उपचारको क्रममा ज्यान गएको हो ।

श्वासप्रश्वासमा समस्या भएका पुरुषलाई वैशाख ७ गते मंगलबार अस्पतालमा भर्ना गराइएको र सोही दिन उनको एन्टिजेट किटबाट परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएकोे नारायाणी अस्पतालका कोभिड कोडिनेटर डा. सरोज रोशन दासले जानकारी दिनुभयो । उहाँले पुरुष अस्पताल भर्ना हुँदा उनको दुवै फोक्सोमा कडा निमोनिया भएको थियो ।

मकवानपुरमा सम्भावित रोकथाम र बचावट

कोभिड–१९ को सम्भावित रोकथाम र बचावटका सन्दर्भमा संघिय सरकारले गरेको निर्णयबमोजिम मकवानपुर जिल्लामा पनि सोही बमोजिम पूर्ण पालना गराउन थालिएको छ । मकवानपुर जिल्लामा कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्णयअनुसार संघिय निर्देशन पूर्ण रुपमा कार्यान्वयन गर्न लागिएको प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जानकारी दिनुभयो । अब मकवानपुर जिल्लामा सिनेमा घर, दोहोरी साँझ, जिम क्लब, आमसभा, जुलुस, स्वीमिङ पुल, रङ्गशालामा दर्शकसहितको खेलकूद तथा भीडभाड हुने कार्यक्रम सबै वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको छ ।

मेला, महोत्सब, जात्रा, विवाह आदिमा २५ जनासम्म मात्र उपस्थित हुन पाउने तथा विवाह, ब्रतबन्धको लागि पार्टी प्यालेसमा गर्नुपर्ने भए प्रमुख जिल्ला अधिकारीको पूर्व स्वीकृति लिनुपर्ने अनिवार्य गरिएको छ । यस्तै सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाउने तथा अनिवार्य मास्क लगाउनुपर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो ।

यसैबीच हेटौंडा उपमहानगरपालिकाभित्रको  सार्वजनिक तथा निजी शैक्षिक संस्थाहरुमा वैशाख मसान्तसम्म भौतिक उपस्थिति नगराउने र अनलाइन तथा वैकल्पिक माध्यमबाट पठनपाठन गराउने निर्णय गरेको छ ।

मकवानपुर जिल्लामा हेटौँडा उपमहानगरपालिका बाहेकका अन्य स्थानीय तहले भने जोखिमको मूल्यांकन गरेर जनस्वास्थ्यको मापदण्ड पूरा गरेर मात्र पठनपाठन गराउन पाउने भएका छन् । विद्यालय र कलेजको पूर्वनिर्धारित परीक्षा भने तोकिएअनुसार नै हुने जनाइएको छ ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !