१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारिताः विकास निर्माणमा महिला सहभागिता वृद्धि

प्रकाशित मिति :  ७ बैशाख २०७८, मंगलवार ०५:४६


फुङ्लिङ । ताप्लेजुङको स्थानीय तहमा हुने विकास निर्माणका काममा महिलाको सहभागिता बढदै गएको छ ।

प्रायःजसो घरको काममा मात्रै सीमित रहने यस क्षेत्रका महिला अहिले भने विकास निर्माणमा सहभागी हुन थालेका छन् । अझै पनि महिलाले विकास निर्माणका काम गर्न सक्दैनन् भन्ने मानसिकताका कारण उनीहरु काममा खुलेर आउँदैनन् ।

पछिल्लो समय प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत हुने विकास निर्माणका काममा पुरुषभन्दा महिला अब्बल हुन थालेका छन् । महिलाहरू साना सिंचाइ योजना, बाटो निर्माण खानेपानी योजना, भवन निर्माणमा सहभागी हुन थालेका छन् । बिहान घरको काम सकेर दिनभर विकास निर्माणमा सहभागी हुदाँ महिलालाई ज्ञान र सीपका साथै आर्थिक उपलब्धि समेत हुने गरेको पाइन्छ ।

सिदिङवा गाउँपालिका–३ का शिवमाया सिवालाई विगतका दिनमा चुलोचौकामै दिन बित्थ्यो । गाउँमा विकास निर्माणका काम त हुन्थ्यो, तर महिला जान पाउँदैनथे । आजभोलि बिहानै सबेरै उठेर चुलोचौको सकेर दिउँसोको खाजा बोकी विकास निर्माणको काममा जानु सिवाको दैनिकी हो ।

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत गाउँमा विकास निर्माणको काम हुन थालेपछि यहाँका महिलाको दैनिकी फेरिएको हो । उनी भन्छिन्, ‘हामीले बाटो र कुलो बनाउने काम गरिरहेका छौँ ।

‘पुरुषको भन्दा छिटो गरिरहेका छौं ।’ विकास निमार्णका सहभागी हुँदा ज्ञान र सीपका साथै ज्याला पाउँदा निकै खुसी लागेको सिवाको भनाइ छ । उनीजस्तै ताप्लेजुङका ३०० महिला प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत विकास निर्माणमा प्रत्यक्ष काम गर्दै आउनुभएको छ ।

सिरिजङ्घा गाउँपालिका–३ का लीला गौतमले गत आइतबार आफ्नै नाममा खोलेको बैंक खाताबाट पैसा निकालेको पहिलोपटक हो । उनी अहिले २६ वर्षको हुनुभयो ।

आइतबार उनले बैंकबाट तलब लिएको पहिलो दिन हो । गौतमले भन्नुभयो, ‘म अहिले २६ वर्ष पुगे, मैले कुनै बैंकमा खाता खोलेको थिइनँ । प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भयो ।

बैंकमा खाता खोल्नुपर्छ भनेपछि गाउँपालिकामा रहेको बैंकमा खाता खोले । आज पहिलो महिनाको तलब १७ हाजर रुपैयाँ बैंकबाट निकाले ।’ उनी मात्र होइन, सिरिजङ्घा गाउँपालिकाका ६३ महिलाले आइतबार पहिलो माहिनाको तलब निकासा गरेका छन् ।

सिरिजङ्घा गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत आवेदनमा परेकामध्ये दुई सय १२ जना रोजगारीका लागि छनोटमा परेका छन् । तीमध्ये ६३ महिला रहेको सिरिजङ्घा गाउँपालिका प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक हिमाल तिमिल्सिनाले बताउनुभयो । ताप्लेजुङको नौ स्थानीय तहमा तीन सय महिला अहिले बाटो निर्माण, सिंचाइ, कुलो मर्मतमा सक्रियरूपमा दैनिक काम गर्न आएका छन् ।  सिदिङवा गाउँपालिकामा दुई सय २० पुरुष र  ५३ महिलाले पाँच सय १७ का दरले दैनिक ज्यालामा सय दिनका लागि प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगार  पाइरहेको सिदिङवा गाउँपालिका प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक फूलमाया पन्दाकले बताउनुभयो ।

यसैगरी मेरिङदेन गाउँपालिकामा  दुई सय ६२ पुरुष र ६१  महिलाले प्रधानमन्त्री रोजगारी पाएका छन् । मैवाखोलामा दुई सय १२ पुरुष र ६१ महिला, सिरिजङ्घा गाउँपालिकामा दुई सय आठ पुरुष र ६३ महिला, पाथीभरायाङवरक गाउँपालिकामा दुई सय ५६ पुरुष र ६६ महिलाले रोजगारी पाएका छन् ।

त्यस्तै फक्ताङलुङ गाउँपालिकामा एक सय २७ जनाले रोजगारी पाएका छन् । फुङ्लिङ नगरपालिकामा एक सय १२ महिला र एक सय ६८ पुरुषाले रोजगारी पाएको फुङ्लिङ नगरपालिकाका रोजगार संयोजक सरिता लिङदेनले बताउनुभयो ।

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत निर्माण कार्यमा महिलाको सहभागिता हुन पाउँदा खुशी लागेको फुङ्लिङ गाउँपालिका–९ का हरिकला गुरुङले बताउनुभयो ।

विगतमा पुरुषमात्र निर्माण कार्यमा जाने, महिला घरकै काममा दिन बिताउने गरेकामा पछिल्लो समय महिलाले विस्तारै स्वरोजगार बन्दै गएको सिरिजङ्घा गाउँपालिका रोजगार संयोजक हिमाल तिमिल्सिनाले बताउनुभयो ।

– रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !