१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कर्णालीमा एमाले एकढिक्का छ – यामलाल कँडेल

प्रकाशित मिति :  ३ बैशाख २०७८, शुक्रबार १०:३३


काठमाडौं । ‘कर्णालीमा एमाले एकताबद्ध छ, एकढिक्का छ’– कर्णाली एमाले संसदीय दलका नेता यामलाल कँडेलले भन्नुभयो ।

कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशनको पहिलो बैठकलाई शुक्रबार सम्बोधन गर्दै कँडेलले केन्द्रमा जे भएपनि प्रदेशमा एमाले एकढिक्का रहेको बताउनुभयो  । एमालेभित्र केही आन्तरिक समस्या भए पनि बाहिर हल्ला गरेजस्तो केही नभएको पनि उहाँले बताउनुभयो । ‘प्रदेशमा एमाले एकजुट छ, हामी सबै सांसद् एकठाउँ छौं, केन्द्रको विवादलाई आधार बनाएर गरिने कुराहरुले न हाम्रो सम्वन्ध सुमधुर हुन्छ, न त राम्रो संस्कार नै बस्छ’ – यामलालले भन्नुभयो ।

माधव गुटका केही सांसद्ले ‘फ्लोर क्रस’ गर्न सक्छन् भनेर चरित्र हत्या गरिएकोमा उहाँले कडा आपत्ति जनाउनुभयो । उहाँले भन्नुभयो – ‘एमालेका सांसद्हरुको चरित्र हत्या गर्नु निन्दनीय छ, दलीय सीमालाई मिचेर सार्वजनिक निष्ठामाथि आँच आउने काम भएको छ, त्यो राम्रो होइन ।’

विकास र समृद्धिका लागि पार्टीगत सम्बन्धलाई राम्रो बनाउनु जरुरी रहेको उहाँले बताउनुभयो । कँडेलले भन्नुभयो –‘दलगत मान्यताका कुरा गर्दा सत्य तथ्य कुरा लुकाउने परम्परालाई अन्त्य गर्नुपर्छ, पार्टीगत रुपमा व्यक्तिगत सम्बन्ध राम्रो बनाउनु जरुरी छ, दलगत सम्बन्धलाई सुधार गरौं, कर्णालीका समस्याकामा एकजुट भएर लागौं ।’

राजनीतिक उतार–चढावलाई लिएर कसैले पनि सम्बन्ध बिग्रिने खालका अभिव्यक्ति दिनु गलत रहेको कँडेलले बताउनुभयो । नेकपा हुँदाको विवाद विकसित भएर एमालेभित्र आएको र सबै मिलेर विवादको अन्त्य गर्नुपर्ने उहाँले बताउनुभयो ।

कसैले पनि एमालेभित्रको विवादलाई आधार बनाएर टिक्छु भन्ने अभिव्यक्ति दिनु गलत भएको पनि कँडेलले बताउनुभयो । ‘एमालेभित्र सांगठनिक समस्या देशभर देखिएको छ, त्यो सुध्रिदै जान्छ, तर त्यही कुरालाई आधार बनाएर कसैले टिक्छु भनेर सोच्नु राम्रो होइन, हामीले हाम्रो सम्बन्ध सुधार गर्नुपर्छ, एमालेका सांसद्लाई आँच पुग्नेगरी दिइएका अभिव्यक्ति सह्य हुदैन्’ – नेता कँडेलले भन्नुभयो ।  एकअर्काको बारेमा धावा बोलेर दलगत सम्बन्ध सुधार नहुने उहाँले बताउनुभयो ।

-आईएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !