१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्नू – शिक्षा मन्त्रालय

प्रकाशित मिति :  ३ बैशाख २०७८, शुक्रबार १०:२४


काठमाडौं । तत्काल विद्यायल बन्द नहुने भएका छन् । संक्रमण अवस्था हेरेर मात्र विद्यालय बन्द हुने भएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुक्रबार तीनबुँदे निर्देशन जारी गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्न आग्रह गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठसहित आज बसेको बैठकले पछिल्लो अवस्थाको समीक्षा गर्दै सरकारबाट निर्णय नभएसम्मका लागि तीन बुँदे निर्देशन जारी गरेको छ ।

मन्त्रालयले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर, आलोपालो वा सिफ्टमा भएपनि विद्यालय सञ्चालन गर्न आग्रह गरेको छ । सबै शिक्षण संस्थाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेका स्वास्थ्यसम्बन्धी सबै मापदण्ड अपनाउन आग्रह गरेको छ ।

विद्यार्थी वा कर्मचारी संक्रमित भए स्थानीय स्वास्थ्य संस्थासँग समन्वय गरी आइसोलेशनमा राख्न मन्त्रालयले निर्देशन दिएको छ । विद्यालयमा मास्क, स्यानिटाइजर, साबुन पानी लगायत स्वास्थ्य सुरक्षा सामग्रीको व्यवस्था गर्न मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले शिक्षण संस्थाभित्र सभा समारोह, वार्षिकोत्सव जस्ता भिडभाड हुने कार्यक्रम नगर्न पनि अनुरोध गरेको छ । ‘सबै प्रकारको शिक्षण संस्था सञ्चालन गर्दा भिडभाड नहुने गरी विद्यार्थीको संख्या एवम् संस्थाको मौजुदा पूर्वाधार एवम् संस्था रहेको स्थान विशेषको संक्रमणको अवस्था समेतलाई विचार गरी स्थानीय तहसँग समन्वय एवम् परामर्श गरी आलोपालो सिफ्ट या उपयुक्त विधि अपनाई सम्बन्धित संस्थाले सिकाइ क्रियाकलाप सञ्चालन गर्ने व्यवस्था मिलाउनु’– विज्ञप्तिमा लेखिएको छ ।

मन्त्रालयले देशभरिका विद्यालयले दैनिक पठनपाठन सञ्चालन गर्दा विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–०७७ पूर्ण रुपमा अनुसरण गर्न निर्देशन दिएको छ । विद्यालय बन्द गर्नुपर्ने अवस्था आए स्थानीय तह, जिल्ला कोभिड १९ संकट व्यवस्थाप केन्द्र (डीसीसीएमसी)सँग समन्वय गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्रालयले बिहीबार १४ वटा जिल्लालाई अति प्रभावित भन्दै विद्यालय एक महिना बन्द गर्न अपिल गरेको थियो । जसमा काठमाडाैं, ललितपुर लगायत जिल्लाका विद्यालय बन्द गर्न सूचना जारी गरेकाे थियाे ।

-आईएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !