१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आशा, उत्साह र विश्वास : प्रधानमन्त्रीले दिनुभयो निरासाको निकास

प्रकाशित मिति :  १ बैशाख २०७८, बुधबार ०५:१७


काठमाडौं । धेरैको अपेक्षा थियो– प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको उपलक्ष्यमा देशवासीका नाममा लिखित सम्बोधन गर्नुहुनेछ । तर, उहाँले करिब ४५ मिनेट अलिखित सम्बोधन गर्नुभयो ।

सम्बोधनमा प्रधानमन्त्रीले व्यक्त गर्नुभएका महत्वपूर्ण अंशहरु बुँदागत रुपमा :

♦ ४५ मिनेटमा उहाँले देश विकासमा अहिलेसम्म भएका उपलब्धीको समग्र चित्र खिच्नुभयो । देश र जनतामा आशा र उत्साह जगाउने दर्जनौं विषय बताउनुभयो ।

♦ नागरिकको जीवन रक्षा पहिलो । अर्थतन्त्रभन्दा पनि, अरु सबै कुराभन्दा पनि नागरिकको जीवन रक्षा पहिलो । नागरिकको जीवन नै रहने भने कुनै कुरा सुचारु हुन सक्दैन । उद्योगहरु बन्द भए भने पुन सञ्चालन गर्न सकिन्छ तर मानिसको जीवन सञ्चालन गर्न सकिन्न । सबै कुरा मानिसका लागि, सबै कुरा मानवद्धारा । जीवनको सुरक्षा प्राथमिक महत्व ।

♦ अब देशमा हिंसाको राजनीति छैन । अर्थात् राजनीतिलाई हिंसाको माध्यमबाट आफ्ना उदेश्य प्राप्त गर्ने तरिका अवलम्बन गर्ने कुनै समूह छैन । अब राजनीतिक अभिष्ट संवैधानिक र शान्तिपूर्ण राजनीतिको मूलधारबाटै पाउन सकिन्छ ।

♦ जनतामा सार्वभौमसत्ता रहेको छ । सम्पूर्ण राज्यशक्तिको स्रोत हतियार या अरु कुनै चिज होइन । हिंसा होइन । जनता, जनताको मत र  जनताको अभिमत नै वास्तवमा राजनीतिको निर्धारक तत्व हो र त्यसैबाट जनताको सार्वभौमसत्ता वास्तविक रुपमा प्रतिविम्बित हुन्छ ।

♦ हामीले जनतामा आशा जगाउने थुप्रै काम गरेका छौं । कतिपय कोणबाट केही पनि भएन, केही पनि भएको छैन भनेर जनतालाई निराश बनाउने, जनतामा असन्तुष्टि भड्काउने प्रयासहरु भइरहे पनि सरकार त्यसबाट किञ्चित विचलित भएन । हामीले जनतामा आशा जगाउने कामहरु, सरकारका क्रियाकलापमा जनताको भरोसा जगाउने कामहरु र भविष्यप्रति आशा र विश्वास जगाउने कामहरु लगातार गर्यौं ।

प्रधानमन्त्रीले निम्न उपलब्धीहरु बताउनुभयो

– प्रतिदिन साँढे पाँच किलोमिटर बाटो

– एक दिनमा कम्तिमा १२ वटाका दरले आवास तयार भएको छ

– आठ प्रकारको सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या ३० लाख ६० हजार पुगेको छ

– महिनाको सय रुपैयाँबाट सुरु गरिएको सामाजिक सुरक्षा भत्ता अहिले दैनिक एक सय भएको छ

– हरेक दिन कम्तीमा एउटाभन्दा धेरै झोलुंग पुल बनाएका छौं

– हरेक दोस्रो दिन कम्तीमा एउटा सडक पुल बनाएका छौं

– हरेक तेस्रो दिन एउटा ग्रामीण सडक पुल बनाएका छौं

– हुलाकी राजमार्ग केही ठाउँमा बनाउन बाँकी छ, लगभग सबै बनिसकेको छ

– तराईका सदरमुकाम जोड्ने सडक चार लेन, ६ लेनका बाटो बनाएका छौं

– जनकपुरमा दुईटा रेल ल्याइसकेका छौं, यही महिनाबाट चल्छ

– पूर्व पश्चिम रेलमार्ग कतिपय ठाउँमा ट्रयाक र पुल बनाउने काम भइरहेको छ

– कोशी गण्डकीमा उत्साही युवाहरुले स्टिमर चलाइसक्नुभएको छ

♦ प्रतिकूलता बीच पनि समय खेर जान दिएका छैनौं ।

♦ हामीलाई जस या श्रेय लिने होडवाजीमा सामेल हुन रहर छैन । हामीलाई जस होइन काम चाहिएको हो । हामीलाई काम सफल बनाउनु छ । देश अघि बढाउनु छ । जनतालाई सुविधा पुराउनु छ । गरिबी हटाउनु छ । देशलाई माथि उठाउनु छ । पछौटेपनबाट अगाडि बढाउनु छ । देशलाई आधुनिकीकरण गर्नु छ । विज्ञान प्रविधिको प्रयोग गर्नुछ । डिजिटल नेपाल बनाउनु छ ।

♦ आशा जगाउनुपर्छ, जनतामा विश्वास जगाउनुपर्छ । विकास निर्माणको काम अगाडि बढ्छ ।

♦ हामी टनेल युगमा प्रवेश गरेका छौं । उत्तर दक्षिण रेल र बाटोमा पनि टनेल बनाउँदैछौं ।

♦ नेपाल एकपछि अर्काे गरी नयाँ युगमा प्रवेश गर्दैछ । २०७८ साल बैशाख १ गते लाग्दा  पात्रो या क्यालेण्डरको पाना पल्टिएको मात्र होइन, मिति परिवर्तन भएको मात्र होइन, हामीले यहाँको स्तर पनि परिवर्तन गरेका छौं । यस आशावादीताका साथ अगाडि बढौं ।

♦ ०७७ साल राजनीतिक आर्थिक सबै दृष्टिले सफलताको वर्ष रह्यो । हामी नयाँ वर्षमा नयाँनयाँ कामहरु थालनी गर्दैछौं ।

♦ जो बालबालिकाले अभिभावक गुमाएका छन् उनीहरुको अभिभावक सरकार छ । जो ज्येष्ठ नागरिकले सहारा गुमाएका छन्, उनीहरुको सहारा सरकार छ । जसले विभिन्न कारणले भीख माग्नुपर्ने स्थिति सिर्जना भएको छ, त्यो स्थिति अन्त्य गरेर सम्मानित जीवन बाँच्न पाउने स्थिति निर्माण सरकारले गर्छ ।

♦ हामी चाहन्छौं, फाटोको खेती होइन । आपसमा वैमनस्यता र घृणा होइन, आजको आवश्यकता राष्ट्रिय एकता हो । अनेकतालाई हटाएर, विमतिलाई हटाएर, दूरीलाई हटाएर निकटता कायम गर्ने, अनेकतालाई एकतामा लयाउने ।

♦ हाम्रा सम्पूर्ण सामथर््य र शक्तिहरु देश विकासमा प्रयोग गर्नुपर्ने आजको आवश्यकता हो । त्यस आवश्यकतातिर म सबैको ध्यानाकर्षण गर्छु ।

♦अहिले जनताको मनोबल उठेको छ । आत्मविश्वास बढेको छ । नेपाली हुनुको गर्व अनुभूति भएको छ ।

♦ आफ्नो भूभाग समेटेर हामीले नेपालको नयाँ नक्सा जारी गरेका छौं । त्यसले सम्पूर्ण नेपाली जनताको मनमा हर्ष छाएको छ, उमंग छाएको छ । राष्ट्रिय गौरव बढेको छ । आत्मविश्वास बढेको छ । हाम्रो गौरवपूर्ण इतिहास फेरि एकपटक सम्झेका छौं । हाम्रो बहादुरीको इतिहास फेरि एकपटक सम्झेका छौं । हाम्रो पूर्वजहरुको विद्धतापूर्ण इतिहास, खोज अनुसन्धानमूलक इतिहास फेरि एकपटक सम्झेका छौं ।

♦ हिँड्दै जाँदा जहाँ पुगिएला भन्ने कुरा होइन । भरे बेलुका कहाँ बास बस्ने भन्दा जहाँ पुगिएला त्यहाँ बास बस्ने होइन । हामी बास बस्ने ठेगाना छ । हामी पुग्ने गन्तव्य छ । कहाँ विश्राम गर्छाैं, अन्तिम कहाँ पुग्ने गन्तव्य छ । कुन बाटोबाट हामी अगाडि बढ्छौं भन्ने टुंगो छ ।

♦ सातैवटा प्रदेशमा हामीले ठूलाठूला औद्योगिक क्षेत्र शिलान्यास गरेका छौं र दुनियाँलाई आमन्त्रण गरेका छौं– यी यहाँ लगानी गर्नुहोस् । लगानीका निम्ति अनुकूल वातावरण निर्माण भएको छ । श्रम समस्याहरुको सम्बन्धमा राम्रो वातावरण बनेको छ । श्रमिक, श्रमदाता र सरकार बीचको समन्वय र सहकार्यमा मात्रै तत् क्षेत्रका कानुन नीति निर्माण गर्ने काम भएका छन् ।

♦ सम्पूर्ण दाजुभाई दिदीबहिनीहरुलाई विभिन्न प्रकारका हल्लाका पछाडि नअल्मलिन आग्रह गर्दछु । राष्ट्र निर्माणको काममा ढुक्कले आत्मविश्वाशका साथ अगाडि बढ्न आग्रह गर्दछु । निराशा जगाउन खोजिएका प्रयासहरुलाई अस्वीकार गर्न र आशावादीता लिएर अगाडि बढ्न आग्रह गर्दछु ।

♦ हामी सबैको निष्ठा देशप्रति, जनताप्रति । हामी सबैको निष्ठा मानव जतिको सर्वाेपरी हितको रक्षाका लागि ।

♦ हामी अन्तराष्ट्रिय जगतमा हाम्रा राष्ट्रिय हितहरु रक्षा गर्दै, तिनलाई सम्वद्र्धन गर्दै अगाडि बढेका छौं । हामीले भनेका छौं– राष्ट्रिय हितको प्रश्नमा जहिले पनि न्यायोचितता र अन्तराष्ट्रिय उत्तरदायित्वलाई बिर्सन हुँदैन । न्याय बिनाको वा न्यायरहित राष्ट्रिय हित राष्ट्रिय अहंकार हुनसक्छ अथवा अन्यायपूर्ण राष्ट्रिय हुनसक्छ । त्यस कुरामा हामी सजग हुनुपर्छ । हामी आफू पनि न्यायसहितको, अन्तराष्ट्रिय उत्तरदायित्व सहितको, शान्तिको पक्षको, न्यायको पक्षको, विकासको पक्षको, समानताको पक्षको यस्तो अन्तराष्ट्रिय सम्बन्धको पक्षपोषण गर्छाैं । अरु सबै विश्वसँग पनि त्यही अपेक्षा गर्छाैं ।

♦ विकासका निम्ति शान्ति आवश्यक छ । मानवीय सुखका निम्ति, निर्भय वातावरणका निम्ति, अमनचयनका निम्ति शान्तिपूर्ण वातावरण आवश्यक छ । शान्तिपूर्ण वातावरण अरु कसैले निर्माण गर्ने होइन, दुनियाँका विभिन्न देशका नेतृत्व वर्गले यसमा गम्भीरतासाथ सोच्नुपर्छ । अबको विश्वलाई भयमुक्त, त्राशमुक्त, समानतायुक्त, मानिसले सम्मानजनक जीवन बाँच्न पाउने, जैविक र मानविय आवश्यकताको न्यूनतम् न्यायोचित परिपूर्ति हुने विश्व बनाउन आग्रह गर्दछु ।

♦ हिजो द्धन्दका कारणले गाउँ बस्न सकेनन् । हिजो द्धन्दका कारणले सहर आएर पनि घर भएन, जिविका चल्ने अवस्था भएन र विदेश जाने सिलसिला चल्यो र त्यसले लहरको रुप लियो । आज त्यस्तो अवस्था होइन ।

♦ विदेश बढि असुरक्षित छ, विदेश बढि कष्टपूर्ण छ, त्यसैले हामी देशभित्रै बसौं । देश निर्माणको काममा जुटौं । उपलब्ध रोगारीका अवसर प्रयोग गरौं । उपलब्धको प्रयोग गरौं, उपयुक्तको खोजी गरौं । विकाससँगै रोजगारीको अवसर, रोजगारीसँगै विकास ।

-आईएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !