१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

गण्डकीमा एमालेकै निरन्तरता चाहन्छौं – जनमोर्चा

प्रकाशित मिति :  ३१ चैत्र २०७७, मंगलवार १२:२६


काठमाडौं । गण्डकी प्रदेशमा एमाले नेतृत्वको सरकारले नै निरन्तता पाउनुपर्ने पक्षमा राष्ट्रिय जनमोर्चामा देखिएको छ ।

‘गण्डकीमा वाम सरकारको निरन्तरता होस् भन्ने चाहन्छौं, म पनि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङकै समर्थनमा छु’ – जनमोर्चा गण्डकी संसदीय दलका नेता सांसद् कृष्ण थापाले भन्नुभयो । मुख्यमन्त्रीविरुद्ध जान नसकिने पनि थापाले प्रष्ट पार्नुभयो ।

माओवादी केन्द्रले आफ्ना मन्त्रीलाई प्रदेश सरकारबाट फिर्ता बोलाएपछि मुख्यमन्त्री गुरुङलाई सरकार जोगाउन असहज भएको छ । जनमोर्चाले साथ नदिए प्रदेश सरकार ढल्न सक्छ । त्यसैले प्रदेश सरकारलाई जनमोर्चाको सहयोग आवश्यक देखिन्छ । यद्यपि गुरुङलाई अरु दलले पनि समर्थन गर्न सक्छन् ।

कांग्रेस र जसपालाई आफूहरुले सहयोग नगर्ने उद्घोष पनि उहाँले गर्नुभयो । ‘कांग्रेस र जसपा जस्ता भारतीय दलालहरुसँग सहकार्य गरिन्न, फेरि पनि भन्छु हाम्रो पार्टी वाम नेतृत्वको सरकार चाहन्छ, गुरुङ नेतृत्वकै सरकारको स्थायित्व चाहन्छ’ – थापाको भनाइ छ ।

कांग्रेस भ्रष्टाचारी भएको आरोप लगाउँदै थापाले भन्नुभयो – ‘विगतमा कांग्रेसले भ्रष्टाचार गरेर राज्यको ढुकुटी सकेको हो, यस्ताहरु फेरि सरकारमा आए देश लुट्ने बाहेक केही गर्न सक्दैनन्, अनि कसरी यस्तालाई समर्थन गर्नु ?’

तत्काल आफूहरु सरकारमा नजाने बताउँदै थापाले भन्नुभयो – ‘सरकारलाई हाम्रो समर्थन कायमै छ, सरकारमा जाने विषयमा अहिले केही सोचेका छैनौं ।’ सरकारविरुद्ध अविश्वासको प्रस्ताव नल्याइने पनि कृष्णले स्पष्ट पार्नुभयो । ‘हामी सरकारविरुद्ध जादैनौं, माओवादी, कांग्रेसले अविश्वासको प्रस्ताव ल्याएछन् भने पछि केही सोच्न सकिएला ।’

-आईएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !