१ श्रावण २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

ओलीलाई नमान्दा दुःख पाउनुभयो प्रचण्डले – टोपबहादुर रायमाझी

प्रकाशित मिति :  ३१ चैत्र २०७७, मंगलवार १०:१९


काठमाडौं । ‘प्रधानमन्त्री केपी शर्मा ओलीलाई नटेरेर पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्नुभयो, अहिले त्यही भएर दुख पाइरहनु भएको छ’– एमाले नेता एवं उर्जा जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीको भनाइ छ ।

प्रेस चौतारी नेपाल अर्घाखाँचीले मंगलबार अर्घाखाँचीमा गरेको पत्रकार सम्मेलनमा मन्त्री रायमाझीले आफ्नै अध्यक्ष र नेतालाई नमान्दा प्रचण्ड सडकमा पुग्नुभएको बताउनुभयो । ‘केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टीको प्रथम अध्यक्ष सुरुमा उहाँले नै मान्नुभयो, हामी ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री मानेर बसेका छौँ, प्रचण्डजी सडकमा मात्र होइन कता कता जानुभयो’– रायमाझीले भन्नुभयो ।

आफूहरुले छाडेको नभइ आफूहरुलाई छाडेर प्रचण्ड हिँड्नुभएको समेत रायमाझीले बताउनुभयो । ‘हामी त प्रचण्डले लगेर मिसाइदिएको पार्टीमा नै छौं, विचार मिलेको छ बसिरहेका छौं, बसिरहन्छौं’– टोपबहादुरले भन्नुभयो ।

प्रचण्ड र माओवादी पार्टीमा राजनीतिक विचलन आएको पनि उहाँले बताउनुभयो । पहिलो संविधान चुनावमा पहिलो पार्टी भएको माओवादी खस्कदै जानु भनेको माओवादीमा आएको विचलन भएको रायमाझीको भनाइ छ । उहाँले प्रश्न गर्नुभयो – ‘यसमा नेतृत्वले जिम्मा लिनु पर्दैन ?’

माओवादीले सञ्चालन गरेको जनयुद्धले बाहिर राम्रै सन्देश दिएको भए पनि त्यसभित्रको कथा व्यथा भनि नसक्नुको भएको उहाँले बताउनुभयो । यसलाई विस्तारै सार्वजनिक गर्दै जाने पनि उहाँले बताउनुभयो ।  पूर्व जनमुक्ति सेना अहिले माओवादीको कारण निरास भएको उहाँले बताउनुभयो । माओवादी जनयुद्धका लडाकुको व्यवस्थापन माओवादी सरकारमा जाँदा हुन नसकेको रायमाझी बताउनुहुन्छ । माओवादी जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनका घाइतेलाई केपी ओली नेतृत्वको सरकारले निशुल्क उपचार गर्ने घोषणा गरेको भन्दै उहाँले् यो ऐतिहासिक निर्णय भएको बताउनुभयो । उनीहरुलाई प्रमाणपत्रसहित सम्मान गर्ने सरकारको निर्णय अर्को ऐतिहासिक निर्णय भएको बताउँदै रायमाझीले भन्नुभयो – ‘जनयुद्धका नायक भन्ने साथीहरुले गर्नुपर्ने थियो कि थिएन यो काम ? मुटु भक्कानिन्छ ।’

प्रचण्डको क्रियाकलापको कारण उहाँलाई छाड्न वाध्य भएको उहाँले बताउनुभयो । ‘माओवादी किन छाडिस् भन्नुहुन्छ, किन नछाड्ने, किन बस्ने ?’– उहाँले भन्नुभयो ।

एमसीसीको अहिले जसले विरोध गर्दै आएका छन् उनीहरुले नै सरकारमा रहँदा निरन्तर कुरा आएको उहाँले बताउनुभयो । अहिले यो विषय विवादमा आएकाले यसबारे सरकारले अध्ययन गरिरहेको पनि उहाँले बताउनुभयो । ‘छलफल गरेर निष्कर्षमा पुग्छौँ’, उहाँले भन्नुभयो ।

माओवादीले समर्थन फिर्ता नलिएसम्म सरकार नढल्ने बताउँदै उहाँले भन्नुभयो – ‘जसले सरकारको विरोध गर्दै हुनुहुन्छ उहाँहरु नै समर्थन फिर्ता लिनुहुन्न, उहाँले फिर्ता नलिएसम्म सरकार ढल्दैन, प्रधानमन्त्रीले त समर्थन फिर्ता लिनुस् भन्नुभएको छ, उहाँहरु फिर्ता लिन मान्नुहुन्न, यसलाई हेर्दा सरकार पूरै ५ वर्ष चल्ले जस्तो देखियो ।’

नयाँ सरकारका लागि जसपा र कांग्रेस भित्रपनि छलफल चलिरहेको उहाँले बताउनुभयो । राजनीतिक स्थिरताको लागि सरकारले सबैसँग छलफल गर्ने बताउँदै मन्त्री रायमाझीले भन्नुभयो –‘कुरा चलिरहेकाले सरकार चलिरहेको छ, आवश्यक पर्दा सबैसँग छलफल हुन्छ ।’

-आईएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !