१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नरबहादुरको प्रश्न – ०७६ मा बनेको तक्मामा कसरी चुच्चे नक्सा हुन्छ ?

प्रकाशित मिति :  ३० चैत्र २०७७, सोमबार १२:३९


काठमाडौं । ‘लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएका नक्सा जारी नहुँदै बनेको तक्मामा कसरी नयाँ नक्सा हुन्छ ?’– यो प्रश्न हो एमाले सांसद् नरबहादुर धामीको ।

प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद् धामीले सरकारको विरोध गर्नेहरुलाई अनेकौं प्रश्न गर्दै तथ्यसहित बुझाउनुभयो । ‘०७६ सालमा बनेको तक्मा बाँड्दा पनि चुच्चे नक्सा नभएको भनि आलोचना गरिएको छ, नक्सा सार्वजनिक नहुँदै बनेको तक्मामा कसरी नयाँ नक्सा हुन्छ ?’– धामीको प्रश्न छ ।

०७६ सालमा विभूषित हुनेहरुलाई सरकारले कोरोनाका कारण ०७७ चैतमा पदक प्रदान गरेको थियो । ०७७ मा विभूषित हुनेहरुलाई ०७८ वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न पदकले विभूषित गर्नुहुने तय भइसकेको छ । उनीहरुले पाउने पदकमा भने चुच्चे नक्सा समेटिएको छ ।

सरकारले १ सय ४६ बर्ष अघिदेखि गुमेको, ४० बर्षदेखि अरुले प्रयोग गर्दै आएको भूमि फिर्ता ल्याउँदा पनि विरोध गरिएको बताउँदै उहाँले प्रश्न गर्नुभयो – ‘यसो गर्नु के अपराध हो ?’

भारतले हडपेको नेपाली भूमि समेटेर नेपालको नयाँ नक्सा अध्यावधिक गर्ने काम केपी ओली नेतृत्वको सरकारले गरेको स्मरण गराउँदै नरबहादुरले प्रश्न गर्नुभयो – ‘विगतमा सत्तामा बस्नेहरु के गरेर बसिरहेको थियौ ?’ धामीले अर्को पनि प्रश्न गर्नुभयो – ‘भारतबाट ट्याङकरले बोक्नुपर्ने पेटो«ल पाइपबाट ल्याउनु अपराध हो ?’

ओली सरकारले नै चीनसँग पारवहन सम्झौता गरेर भारतमाथिको निर्भरता घटाएको उहाँले सुनाउनुभयो । ओली सरकारले देशमा विकास र समृद्धिको लहर ल्याएको पनि उहाँले प्रष्ट पार्नुभयो । ‘एकैदिनमा सयौँ सडक, पुल, अस्पतालको शिलान्यास हुनु के प्रतिगमन हो ? के हो प्रतिगमन ?’ – धामीले प्रश्न गर्नुभयो ।

सरकारले तीन बर्षभित्रमा पुननिर्माणसम्बन्धी धेरै काम गरेको धामीले प्रष्ट पार्नुभयो । बालुवाटारस्थित ललिता निवासको जग्गा काण्डमा १ सय ७५ जनालाई मुद्दा चलाएको समेत उहाँले बताउनुभयो । दण्डहीनता बढ्यो भनेर भ्रम फैलाइएकोमा सांसद् धामीले कडा आपत्ति जनाउनुभयो ।

-आईएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !