१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बेनीमा नयाँ विधिबाट फोहोर व्यवस्थापन

प्रकाशित मिति :  ३० चैत्र २०७७, सोमबार ०४:३१


म्याग्दी । बेनी बजारमा नयाँ विधिबाट फोहोर व्यवस्थापन हुन थालेको छ ।

नगरपालिकाको वडा नम्बर ७ र ८ मा पर्ने बेनी बजारका घरबाटै कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै भाँडोमा संकलन र व्यवस्थापन गर्न थालिएको हो । नगरप्रमुख हरिकुमार श्रेष्ठले फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन नयाँ विधि अपनाइएको बताउनुभयो । ‘बेनीका एक हजार घरधुरीलाई रातो र हरियो रङको दुई वटाका दरले डस्टबिन वितरण गर्न थालेका छौं’, उहाँले भन्नुभयो, ‘घरका सबै फोहोर ती डस्टबिनमा संकलन गरेर राखिन्छ । हरियो डस्टबिनमा कुहिने र रातोमा नकुहिने फोहोर संकलन हुन्छ ।’

नगरपालिकाका कर्मचारी कृष्ण शाक्यले ट्र्याक्टरले आलोपालो गरेर कुहिने र नकुहिने फोहोर घरघरमै पुगेर संकलन गर्ने व्यवस्था मिलाइएको बताउनुभयो । ‘ कुहिने फोहोरलाई मल बनाउने र नकुहिनेलाई कवाडीमा बिक्री गर्ने योजना छ ‘, उहाँले भन्नुभयो, ‘ फोहोर व्यवस्थापन शुल्क तिरेका घरधनीले मात्र डस्टबिन पाउनेछन् । ;’

नगरपालिकाले ठेक्का प्रक्रियामार्फत १३ लाख ७६ हजार रुपैयाँमा खरिद गरेको डस्टबिन घरधनीलाई आइतबारदेखि वितरण शुरु गरिएको छ । नगरप्रमुख श्रेष्ठले वडा नम्बर ७ को वीरेन्द्रचोक टोल सुधार समितिअन्तर्गतका घरधनीलाई डस्टबिन उपलब्ध गराएर वितरण कार्यको शुरुआत गर्नुभएको थियो ।

घरबाटै कुहिने र नकुहिने फोहोर छुट्टाएर संकलन गरिंदा केन्द्रमा लगेपछि व्यवस्थापन गर्न सहज हुने बताइएको छ । यसअघि कुहिने र नकुहिने सबै फोहोरसँगै संकलन गर्दा व्यवस्थापन गर्न असहज भएको थियो । बेनी बजारमा गरिएको अभ्यास सफल भएपछि गलेश्वर र तातोपानी बजारको फोहोर व्यवस्थापन गर्न पनि यस्तै विधि अपनाउने नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।

नगरपालिकाले रातोपहिरोमा दुई वर्षअघि फोहोर व्यवस्थापन केन्द्र निर्माण गरेको थियो । ४७ लाख रुपैयाँमा फोहोर संकलन गर्ने टहरा निर्माण र घेराबार गरिएको छ । कालीगण्डकी नदीको किनारभन्दा माथि र बेनी–गलेश्वर सडकभन्दा तल पर्ने सार्वजनिक जग्गा सम्याएर भवन बनाइएको छ । केन्द्रमा कुहिने र नकुहिने फोहोर व्यवस्थापन गर्ने फरक–फरक ठाउँ बनाइएको छ ।

कालीगण्डकी र सडकमा आवतजावत गर्नेलाई असर नपर्ने तथा दुर्गन्ध नआउने गरी फोहोर व्यवस्थापन गर्ने भनिए पनि कुहिने र नकुहिने फोहोर छुट्टयाउन नसक्दा प्रभावकारी बन्न सकेको थिएन् । कुहिने फोहोरलाई दुर्गन्ध आउन नदिने प्रविधिको प्रयोग गरी मल बनाएर बिक्री गरी आम्दानी गर्ने योजना रहेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।

बेनी र गलेश्वर बजारबाट दैनिक तीन ट्र्याक्टरभन्दा बढी फोहोर संकलन हुने गरेको छ ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !