१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

माधव सँग अहिले पनि हाम्राे माेर्चा छ – प्रचण्ड

प्रकाशित मिति :  २८ चैत्र २०७७, शनिबार ०९:२७


काठमाडौं । नेकपा एमालेको माधव गुटसँग आफ्नो लभ चलिरहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताउनुभएको छ ।

उहाँको भनाई छ– ‘डिभोर्स गराइए पनि लभ त चलिराखेकै छ ।’

पार्टी मुख्यालय पेरिस डाँडामा आयोजित प्रशिक्षण कार्यक्रममा प्रचण्डले आफूलाई एमाले नेता कार्यकर्ताहरुले मदन भण्डारीलाई जसरी मानेको दावी गर्नुभयो । उहाँले भन्नुभयो– ‘पार्टी केन्द्रीय समितिको बैठक मैले चलाएको देखेपछि उहाँहरुले मदन भण्डारी भेटियो भन्नुभयो । त्यसपछि केपी लगायतका दक्षिणपन्थी आतंकित भए, लाने भयो प्रचण्डले भन्न थाले । प्रचण्डलाई नसिध्याएर हाम्रो भविष्य नहुने भयो भन्नु थाले ।’

एकीकरण गरेपछि पूरै पार्टी लिन सकिन्छ भन्ने विश्वासका साथ एकीकरणमा गएको उहाँले औपचारिक खुलासा गर्नुभयो ।

त्यसपछि प्रचण्डले भन्नुभयो– ‘चुरो कुरा यही हो । मैले राम्रो काम सुरु गरे वापत उहाँहरुले प्रहार थाल्नुभयो ।’

आफूले बम्बार्ड द बुर्जुवा हेडक्वार्टर भन्दै १९ पृष्ठको प्रतिवेदन पेस गरेको र त्यसको रणनीति केपी शर्मा ओलीले बुझेको भन्दै प्रचण्डले भन्नुभयो– ‘केपीले मलाई ध्वस्त पार्ने कोशिस सुरु भयो भन्ने बुझे ।’

संघीय लोकतान्त्रिक गणतन्त्र रहेसम्म माओवादी पार्टी कहिले ठूलो कहिले सानो भइरहने धारणा राख्दै उहाँले भन्नुभयो– ‘माओवादीलाई एक नम्बर पार्टी नबनाए देश खतरामा पर्छ ।’

उहाँले भन्नुभयो– ‘हामीले जिते जस्तो गर्नुपर्छ, हारेजस्तो होइन । हाम्रो अनुहार पनि निन्याउरो भएको छ । हुँकार गर्ने जात हो हाम्रो । सबै हारेको जस्तो भयो । हामी जितेको जस्तो हुनुपर्यो । उनीहरुलाई चाहिँ हारेको जस्तो लाग्नुपर्यो ।’

‘यहाँ धेरै खेल छ’– प्रचण्डले भन्नुभयो– ‘हेटौंडा सम्मेलनमा उत्पादन विग्रेड बनाउने भन्यौ तर कार्यान्वयन गर्न सकेनौं । अब उत्पादनका लागि संघर्ष गर्ने हो । माओले भनेको लाइनमा जाने हो ।’

कहाँ हरायो माओवादी भनेको तर जनताबीच रहेछ भन्ने दावी गर्दै प्रचण्डले भन्नुभयो– ‘आदेश चाहियो मर्न तयार छौं भन्दैछन् जनता ।’

केपी ओलीलाई माओवादीले मात्र कारवाही नगरेको भन्दै उहाँले पूर्व एमालेले पनि कारवाही गरेको दावी गर्नुभयो । एमालेको समेत बहुमत बनाएर केपी माथि प्रहार गर्न आफू सफल भएको उहाँले बताउनुभयो ।

अविश्वासको प्रस्ताव ल्याउन चाहिने २५ प्रतिशत संख्या नपुगेर अहिले दुःख पाइएको उहाँले दुःखेसो गर्नुभयो ।

फेरि एकचोटि नयाँ प्रकारको जनयुद्ध गर्ने भन्दै प्रचण्डले भन्नुभयो–‘युद्ध भनेको रक्तपातपूर्ण राजनीति हो, राजनीति भनेको रक्तपातहिन युद्ध हो । अहिले पनि हामी युद्धमै छौं । तर, रुप फरक छ ।’

सबैले आवाज उठायौं, हुँकार उठायौं भने उनीहरुले हेप्न सक्दैनन् भन्दै प्रचण्डले भन्नुभयो– ‘हामी चुप लागेर बस्ने, एकदुईजना नेता मात्र कराउने भयो भने उनीहरुले हेप्छन् ।’

प्रतिक्रान्तितिरै लगेछन् भने संघर्ष गर्ने, चुनावतिर लगेछन् भने एक नम्बर पार्टी बनाउने उहाँले बताउनुभयो ।

पार्टी एकता गरेरै छाड्ने दावी गर्दै प्रचण्डले ‘भोलि नै एकता हुन्छ कि भनेर उतातिर नहेर्नुहोला’ भन्नुभयो ।

अब मोर्चा बनाउने घोषणा गर्दै कस्तो मोर्चा बन्छ भन्ने विष्लेशण पनि प्रचण्डले सुनाउनुभयो– ‘मोर्चा त बन्छ बन्छ । बनाउनैपर्छ भन्ने लागेको छ । हामी र एमालेभित्रको एउटा पक्षसँग मोर्चा बनिराखेकै छ । डिभोर्स भए पनि लभ गएको छैन । जसपासँग धेरै कुरा मिल्छ, त्यहाँ मोर्चा बन्न सक्छ । कांग्रेससँग कम्तीमा सरकारमा जाने र चुनावी तालमेल भयो भने त्यो पनि ठूलो कुरा हुन्छ । मोहनविक्रम, मोहनसँग धेरै आश गर्न हुँदैन । तर, मोर्चा चाहिँ बन्छ ।’


0
Shares

प्रतिक्रिया दिनुहोस !