१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मोरङ कारागारमा अत्याचार, दर्जनौंमाथि कुटपिट

प्रकाशित मिति :  २७ चैत्र २०७७, शुक्रबार ०८:११


बिराटनगर । मोरङ कारागारमा २० जनाभन्दा धेरै कैदीवन्दीलाई गम्भीर कुटपिट गरिएको छ । ‘२० जनाभन्दा धेरै कैदीबन्दीलाई जेलप्रशासनकै मिलेमतोमा कुटपिट गरिएको छ’– एक वन्दीका आफन्तले जानकारी दिए ।

कुटपिट गरेर गम्भीर बनाइएकाहरुलाई उपचार गर्न समेत लगिएको छैन । कारागार स्रोतका अनुसार उनीहरुलाई परिवारसँग फोन सम्पर्क गर्न पनि दिइएको छैन ।

कैदीबन्दीलाई सबैभन्दा धेरै अत्याचार गरिने जेलका रुपमा मोरङ कारागार कुख्यात रहँदै आएको छ ।

‘फागुन २१ गते बिहान र बेलुका कैदीबन्दीलाई अमानवीय ढंगले कुटपिट गरिएको छ, हाम्रा आफन्तलाई उपचार समेत दिइएको छैन’– ती कैदीका आफन्तले जानकारी दिए । जेलभित्र निरन्तर कुटपिटको घटना हुने गरेको छ । तर, फागुन २१ मा कैदीवन्दीलाई छानीछानी निर्घात कुटपिट गरिएको हो ।

मोरङ कारागारका चौकीदार नवीन राईको गिरोहले कुटपिट गरेको बताइएको छ । नवीनको गिरोहमा सूर्यदीप मोक्तान, विजय कामत, शिवनारयण माझी, किरण गुरुङ, निर्मल ढकाल, सूर्यदीप गुप्ता, देवी लगायतको गिरोहले कुटपिट गरेको हो । ‘जेल प्रशासनकै मिलेमतोमा कुटपिट गरिएको छ, मानवअधिकारकर्मी तथा पत्रकारहरुलाई जेल अनुगमनका लागि पठाइनुपर्छ’– आफन्तहरुको माग छ ।

सो जेलमा चौकीदार नवीन राईले निरन्तर अत्याचार गरिरहेको, कैदीवन्दीलाई लुट्ने तथा ठग्ने काम गरिरहेको आफन्तको आरोप छ । कुटपिटको घटना हुनुको कारण नवीन राईले एक पीडितसँग लिएको सात लाख रुपैयाँ भएको बुझिएको छ ।

चौकीदार नवीनले मुद्दा मिलाइदिने भन्दै विश्वास नामका वन्दीका परिवारबाट सात लाख रुपैयाँ लिएको बताइएको छ । रकम लिए लगत्तै नवीनको पहुँचले ती वन्दीलाई भिमफेदी कारागार सरुवा गराइएको थियो । पीडितको परिवारले सात लाख रुपैयाँ फिर्ता मागेपछि कारागारभित्र कुटपिट गरिएको हो । नवीनको गिरोहले अन्य धेरै कैदीवन्दीसँग मुद्दा मिलाइदिन्छु भन्दै रकम असुलेकाले अरुले पनि रकम फिर्ता माग्ने डरले कुटपिट गरिएको कैदीवन्दीका आफन्तहरुको भनाई छ ।

कारागारका सुब्बा रामप्रसाद पोखरेलले यस संवाददातालाई बताउनुभए अनुसार जेलभित्र गुटवन्दी गर्न खोजिएकाले सामान्य घटना भएको दावी गर्नुभयो । ‘अनुशासनमा बस्नुपर्छ कारागारभित्र तर कुटपिट गरिएको होइन’, उहाँको भनाई छ ।

तर, समाचार स्रोत अनुसार जेलभित्र कुटपिट भएको जानकारी पाएपछि स्थानीय प्रशासनले जेल निरीक्षण गरेको छ । मोरङका सहायक प्रजिअ र जिल्ला प्रहरी कार्यालयको टोलीले जेल निरीक्षण गरेको हो । जेल निरीक्षणका बेला घाइतेहरुलाई नदेखाइएको बताइएको छ । ‘केही कैदीले भाग्ने योजना बनाएछन्, त्यही भएकाले घटना भएको हो भन्ने जानकारी दिइयो’– मोरङ जिल्ला प्रशासन कार्यालयका एक अधिकारीले बताए ।

जेलभित्र गडबडी भएकै मौका पारेर जेलर सुवासकुमार लामिछानेको बिहीबार सरुवा गरिएको छ ।

– आइएनए न्युज एजेन्सी

 


0
Shares

प्रतिक्रिया दिनुहोस !