१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मिर्छुलुङका घर–घरमा धारा

प्रकाशित मिति :  २५ चैत्र २०७७, बुधबार ०७:४०


दमाैली । तनहुँको भीमाद नगरपालिका–५ मिर्छुलुङका घर–घरमा धारा जडान भएपछि स्थानीयवासी खुशी भएका छन् ।

खानेपानीको सास्ती खेप्दै आएका यहाँका स्थानीयवासी घरमै धारा जडान भएपछि खुशी भएका हुन् ।

धरादीको मूलबाट सोलार प्रविधिमार्फत मिछुर्लुङका ७२ घरमा धारा जडान गरिएको उपभोक्ता समितिका अध्यक्ष बाबुराम रानाले जानकारी दिनुभयो । ‘गाउँमा पानी नहुँदा कुँवा, पँधेरोको पानी जोहो गर्नुपर्ने बाध्यता थियो, अहिले त घरमै पानी आएपछि स्थानीयवासी खुशी भएका छन्’, उहाँले भन्नुभयो ।

गण्डकी प्रदेश सरकारको आर्थिक सहयोग र स्थानीयवासीको श्रमदानमा उक्त गाउँमा खानेपानी सुविधा पुगेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँले ६८ लाख ४६ हजार दुई सय ४३ रुपैयाँ को लागतमा उक्त गाउँमा खानेपानी सुविधा विस्तार गरेको हो ।

खानेपानी विस्तारका लागि गण्डकी प्रदेश सरकारले ५७ लाख ८४ हजार नाै सय तीन रुपैयाँ लगानी गरेको छ भने स्थानीयवासीले दश लाख ६१ हजार तीन सय ४० रुपैयाँ बराबरको श्रमदान गरेको कार्यालयका प्रमुख किरण पौडेलले जानकारी दिनुभयो ।

०७५ माघ २९ गते सम्झौता भई ०७६ पुस १५ गते सम्पन्न गर्ने लक्ष्य रहे पनि कोभिडको प्रभावका कारण काममा ढिलाइ भएको कार्यालयले जनाएको छ ।

उक्त खानेपानी योजनाको उद्घाटन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले अब गण्डकी प्रदेशका कुनै गाउँमा खानेपानीको समस्या नरहने बताउनुभयो ।

-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !