१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

म्याग्दीका ४७ सामुदायिक वनमा डढेलाे

प्रकाशित मिति :  २५ चैत्र २०७७, बुधबार ०६:२०


गलेश्वर । यस वर्षको वसन्तयाम शुरु भएसँगै हिमाली जिल्ला म्याग्दीका छ वटा स्थानीय तहका ४७ वटा सामुदायिक वनमा आगलागी हुँदा करिब १२ सय हेक्टर वन क्षेत्रमा क्षति पुगेको छ ।

वनमा आगलागी हुँदा साना तथा ठूला सयौं रूखबिरुवा जल्नुका साथै बहुमूल्य जडीबुटी, जंगली पशुपक्षी र अन्य वन पैदावार नष्ट भएका छन् । म्याग्दीमा हावाहुरीको मौसम शुरु भएसँगै सदरमुकाम बेनी तथा विभिन्न स्थानमा दिनहुँजसो आगलागीका घटना भइरहेका छन् ।

सामुदायिक वनमा १० हेक्टरदेखि एक सय ५० हेक्टर क्षेत्रफलमा आगलागीले क्षति पुगेको डिभिजन वन कार्यालयको तथ्यांकले देखाउँछ ।

केही दिनअघि मात्र बेनी नगरपालिका–२ ज्यामरुककोटको गौश्वारा सामुदायिक वनको ६५ हेक्टर जंगल आगलागीबाट सखाप भयो । सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा लिन डिभिजन वन कार्यालयले ४३ सुरक्षाकर्मी स्थानीयवासी परिचालन गर्यो । स्थानीयवासी र सुरक्षाकर्मीले दुई दिनसम्म खटिए पनि आगो निभाउन सकेनन् ।

आगलागीबाट सो वनका बहुमूल्य जडीबुटी, जंगली जनावर र वन पैदावार नष्ट भएका गौश्वाराका रत्नबम मल्लले बताउनुभयो ।

पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानी सामुदायिक वनमा आगलागी हुँदा करिब ६० हेक्टर जंगलमा क्षति पुगेको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ । भौगोलिक कठिनाइ र भिरालो वनमा आगो लागेकाले निभाउन कठिन हुने गरेको कार्यालयले जनाएको छ ।

सामान्यतया सुक्खा र गर्मी मौसममा डढेलो बढी लाग्ने गरे पनि म्याग्दीमा हरियो घाँसको लोभमा पाखो डाँडा तथा जंगलमा आगो लगाउने गरिएको कार्यालयका निमित्त प्रमुख सन्तोष खनालले बताउनुभयो ।

‘यस वर्ष  म्याग्दीमा आगलागीबाट धेरै क्षति भयो, मानवीय लापरवाहीले आगलागी हुने गरेको छ’, खनालले भन्नुभयो । उहाँका अनुसार मानवीय कारणबाट लगाउने गरिएको डढेलोको असर लामो समयसम्म हुने भएकाले घाँसको लोभमा प्राकृतिक स्रोतसाधनको नष्ट गर्ने गरिएको छ ।

डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालयले विभिन्न शीर्षकमा दश लाख रुपैयाँ बजेटमा विभिन्न उपकरणसहितको साम्रगी व्यवस्थापन, जनशक्ति परिचालनलगायतका गतिविधि गर्ने गरेको छ ।

भौगोलिक विकटता र स्रोतसाधन अभावमा डढेलो तथा आगो नियन्त्रण गर्न कठिन भएकाले सुरक्षा निकायलाई समेत उपकरण सहयोगसहित नियन्त्रणमा पुग्न लाग्ने खर्चसमेत कार्यालयबाटै व्यवस्थापन गर्न आगामी वर्ष थप बजेट माग गरिएको निमित्त प्रमुख खनालले बताउनुभयो ।

जंगलमा जथाभावी लगाइएको डढेलोको तथ्यांक गण्डकी प्रदेशको वन निर्देशनालयमा समेत पठाइएको छ । डढेलोले वातावरण प्रदूषणसमेत बनाएको उहाँको भनाइ छ ।

जिल्लाको अति दुर्गम क्षेत्रमा जथाभावी डढेलो लाग्दा भूगोलका कारण स्थानीयवासीसहित अन्य जनशक्तिसमेत पुग्न नसक्ने भन्दै उहाँले हरियो घाँसको लोभमा जथाभावी डढेलो लगाउने कार्यलाई निरुत्साहित गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । वनमा जाँदा सावधानी अपनाउनसमेत उहाँले अनुरोध गर्नुभएको छ ।

सामुदायिक वनमा आगलागी भएपछि वातावरणीय प्रदूषण बढेको छ । आगलागीबाट एकातिर वनजंगल, जंगली जनावर र जडीबुटी नष्ट भएका छन् भने अर्कातिर मानव स्वास्थ्यमा समेत गम्भीर असर परेको वन तथा वातावरण क्षेत्रका जानकारहरुले बताएका छन् ।
– रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !