१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

ट्राफिक सचेतनाले घटायो पर्वतमा सवारी दुर्घटना

प्रकाशित मिति :  २४ चैत्र २०७७, मंगलवार ०७:०२


पर्वत । ट्राफिक सचेतनाका लागि निरन्तर अभियान सञ्चालन भएसँगै पर्वतमा सवारी दुर्घटनाका घटनामा कमी आएको छ ।

सवारी दुर्घटना घटेसँगै वार्षिक मृत्यु हुनेको सङ्ख्या घट्दै जान थालेको छ । दुर्घटना न्यूनीकरणका लागि सवारी जाँचमा कडाइ र कारवाहीको प्रक्रिया अघि बढाएसँंगै दुर्घटना पनि कम हुँदै गएको हो । जिल्लामा आव ०७४/७५ मा छ वटा सवारी दुर्घटनामा तीन जनाको ज्यान गुमाउनुका साथै ४६ घाइते भएका थिए । यसैगरी आव ०७५/७६ मा १५ वटा सवारी साधन दुर्घटनामा १५ जनाको ज्यान र ७४ घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

आव ०७६-७७ मा १८ सवारी दुर्घटनामा सात जनाको ज्यान र १६ जना घाइते भएका छन् । गत वर्ष १८ सवारी दुर्घटनामा १५ जनाले ज्यान गुमाएको भए पनि यो आवमा १२ सवारी दुर्घटनामा छ जनाले मात्र ज्यान गुमाएका हुन् । सवारी दुर्घटनामा ठूला सवारी साधनभन्दा पनि साना सवारी साधन बढी दुर्घटना हुने गरेको प्रहरीले बताएको छ । सडक सञ्जाल र यातायातका साधन बढ्दै जाँदा हरेक वर्ष सवारी दुर्घटनामा पनि कमी आउन थालेको छ ।

हालसम्मको तथ्यांकअनुसार सबैभन्दा बढी दुर्घटना मोटरसाइकलबाट भएको देखिन्छ । मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या केही बढी छ । पछिल्लो समय बढ्दो सवारी साधनको चाप, साँघुरो बाटो, क्षमताभन्दा बढी यात्रु बोक्ने, सडकको जीर्ण अवस्था र सडक निर्माणका नाममा ठेकेदारले वर्षौं लगाउँदा केही दुर्घटना भएको निमित्त ट्राफिक प्रहरी प्रमुख रेशम थापाले बताउनुभयो । ट्राफिक नियम उल्लंघन, मादकपदार्थ सेवन गरी सवारी चलाउने र तीव्र गतिले सबैभन्दा बढी दुर्घटना भइरहेको उहाँको भनाइ छ ।

जिल्लामा भएका सवारी दुर्घटनामा धेरै चालकको गल्तीका कारण भएको अनुसन्धानले देखाएको छ । थापाका अनुसार ०७४ देखि ०७७ सम्म ४६ वटा सवारी साधन दुर्घटना भएका छन् । जसमा तीव्र गति, मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा, यान्त्रिक गडवडी, ब्रेकफेल, स्टेरिङ फेल, यात्रुको गल्ती, सडक चौपाया र सडकको अवस्थाले गर्दा सवारी दुर्घटना भएको छ ।

पर्वतमा मापसे गरी सवारी साधन हाँक्दा कारवाही हुनेको सङ्ख्या पनि कम हुदै गएको छ । आव ०७५/०७६ मा ६० र आव ०७६/७७ मा २९ जना कारवाहीमा परेका छन् । उनीहरुलाई कारवाही गर्दा ८९ हजार रुपैयाँ बढी राजस्व संकलन भएको छ । लकडाउनभन्दा पहिले दिनमा ट्राफिक जाँचमा कडाइ गर्ने प्रहरीले रातमा मापसे जाँचलाई निरन्तरता दिँदा मापसे गरी सवारी साधन हाँक्नेमा पनि उल्लेख्य कमी आएको उहाँले बताउनुभयो ।

यसैबीच ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको साउनयता नौ महिनामा २६ लाख ३८ हजार आठ सय रुपैयाँ राजस्व संकलन गरेको छ । ट्राफिक नियमविपरीत चलेका चार हजार एक सय ५० सवारी साधनलाई कारवाही गर्दा सो राजस्व संकलन भएको ट्राफिक प्रहरी प्रहरी कार्यलय पर्वतले जनाएको छ । सबैभन्दा बढी एक हजार आठ सय ७० जीप तथा कार कारवाहीमा परेका छन् जसबाट ११ लाख ५५ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

त्यसैगरी तीन सय ९० बस कारवाहीमा पर्दा दुई लाख ३० हजार पाँच सय रुपैयाँ  सङकलन भएको छ । चार लाख ७० हजार पाँच सय रुपैयाँ  ट्रकबाट, ६ सय नाै ट्याक्टरबाट  तीन लाख ६९ हजार रुपैयाँ ,  पाँच सय ५० मोटरसाइकल कारवाही गर्दा चार लाख ३० हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।

– रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !