१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

काेराेना बढेपछि भारतकाे महाराष्ट्रमा कडा प्रतिबन्ध

प्रकाशित मिति :  २३ चैत्र २०७७, सोमबार ०६:५३


मुम्बई । कोरोना भाइरसको संक्रमण निकै तीव्र गतिमा फैलिन थालेपछि भारतको महाराष्ट्र राज्यमा कडा प्रतिबन्धको घोषणा गरिएको छ ।

सरकारले राज्यमा रातिको समयमा कर्फ्यु लगाएको छ । हप्ताका अन्तिम दिन तथा विदाका दिनहरु शनिबार र आइतबार पूर्ण रूपमा लकडाउन लागु हुने बताइएको छ ।

भारतमा पछिल्लो समयमा कोभिड १९ का धेरै संक्रमित भेटिएका छन् । आइतबार मात्र पनि एकैदिन ९३ हजार दुई सय ४९ जना संक्रमित थपिएका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

उनीहरुका अनुसार यो संख्या गत सेप्टेम्बर महिना यताको सर्वाधिक धेरै संख्या पनि हो । उक्त संख्याको आधा भन्दाबढी महाराष्ट्र राज्यमा संक्रमित थपिएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पछिल्लो समयमा फैलिएको संक्रमणको कारण पत्ता लगाउनका लागि एउटा विशेषज्ञ टोलीलाई त्यहाँ खटाउने निर्णय हालै गर्नुभएको थियो ।

कोभिड–१९ का कारण भारतमा हालसम्म करिब १ लाख ६५ हजार जनाले ज्यान गुमाएका छन् । त्यसैगरी अहिलेसम्म संक्रमण पुष्टि हुनेको संख्या १ करोड २५ लाख भन्दाबढी रहेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

शुक्रबार मात्र महाराष्ट्र राज्यका मुख्यमन्त्री उद्धव ठाकरेले नागरिकहरुले सुरक्षाका उपायहरू नअपनाएका कारणले यस्तो समस्या आएको बताउनुभएको थियो ।

सरकारले आग्रह गरिरहेको भए पनि मास्क लगाउन छाडेका कारण खोप लगाएपछि पनि केही संक्रमित भएको जानकारी पनि दिनुभयो ।

उहाँले टेलिभिजन सम्बोधनका क्रममा भन्नुभएको थियो– ‘मानिसहरू सामान्य अवस्थामा जस्तो गरेर हिंडडुल पनि गर्न थालेका छन् तर पनि अर्थतन्त्रमा ध्यान दिने की स्वास्थ्यमा भन्ने विषयमा सरकार भने दुबिधामा परेको छ ।’

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !